एसियन गेम्स छनोटमा नेपालको कीर्तिमानी जित : चीन २२१ रनको अन्तरले पराजित

एसियन गेम्स छनोटमा नेपालको कीर्तिमानी जित : चीन २२१ रनको अन्तरले पराजित

काठमाडौं : एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट छनोटको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा आइतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको ३ सय १४ रनको लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा समेटियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३ सय १३ रनको योगफल खडा गरेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १ सय २९ रनको योगदान दिए। उनले मात्र ४३ बलमा १६ छक्का र ५ चौका प्रहार गरे। त्यस्तै नेपालका लागि कुशल मल्लले ४७ बलमा अविजित ८५ रन र कप्तान रोहित पौडेलले २१ बलमा अविजित ६९ रन जोडे। 

भुर्तेल र मल्लबीच दोस्रो विकेटका लागि १ सय ७५ रनको साझेदारी भएको थियो भने मल्ल र पौडेलले तेस्रो विकेटका लागि अविजित १ सय १६ रनको साझेदारी गरे। चीनका मा कियानचेङ र डेङ जिन्कीले १-१ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा चीनका लागि सेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए। चीनका अन्य ब्याटर नेपाली बलिङ सामु टिक्न सकेनन्। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे। त्यस्तै नन्दन यादवले १ विकेट लिए।

जितसँगै समूह ‘ए’मा रहेको नेपालले २ अंक जोडेको छ। कतारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि यस समूहमा नेपाल, चीन र मलेसिया मात्र सहभागी छन्। नेपालले अब आगामी बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

जेठ १७, २०८३ आइतबार ११:३१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।