काठमाडौंमा 'पल्सर आरपीएम' आयोजना हुँदै, स्टन्ट, स्केट र संगीतको रोमाञ्चक उत्सव
काठमाडौं : काठमाडौँको टोखास्थित 'स्केटर्स नेपाल' मा आज शनिबार युवा सडक संस्कृति, खेल र संगीतको उत्साहजनक उत्सव ‘पल्सर आरपीएम’ भव्य रूपमा संचालन भइरहेको छ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले देशका युवा, राइडिङ समुदाय र सडक संस्कृतिप्रेमीहरूलाई एउटै मञ्चमा समेट्ने उद्देश्यले यस विशेष कार्यक्रमको आयोजना गरेको हो।
युवा संस्कृति र मनोरञ्जनको विशेष संगम बजाज ब्रान्डले मोटरसाइकलभन्दा माथि उठेर नेपाली युवासँग बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्य राखेको छ। यसै अनुरुप संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरी युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्न यो प्लेटफर्म तयार गरिएको कम्पनीले जनाएको छ।
'राइड. पावर. मोसन.' को मूल भावनामा आधारित यस कार्यक्रममा युवापुस्तालाई ऊर्जा र मनोरञ्जन दिन बाइक स्टन्ट र बीएमएक्स प्रदर्शन, स्केट र बी-बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै ऱ्याप तथा डीजे सेसन पनि समावेश गरिएको छ।
यस कार्यक्रमले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्नेछ। आज बिहान ११ बजेदेखि सुरु भइसकेको यो उत्साहजनक कार्यक्रम साँझ ८ बजेसम्म निरन्तर चल्नेछ। कार्यक्रममा सहभागी हुन चाहने सम्पूर्ण दर्शक र सर्वसाधारणका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ।
शनिबारको बिदालाई रोमाञ्चक बनाउन काठमाडौंभरिका राइडर, स्केटर, डान्सर, कलाकार तथा संगीतप्रेमीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
जेठ १६, २०८३ शनिबार ११:४७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।