त्रिभुवन विश्वविद्यालय र एयरबसबीच सम्झौता, नेपालमा एरोस्पेस प्रविधिको विकास गरिने

त्रिभुवन विश्वविद्यालय र एयरबसबीच सम्झौता, नेपालमा एरोस्पेस प्रविधिको विकास गरिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) र विश्वप्रसिद्ध विमान निर्माता कम्पनी ‘एयरबस’ बीच नेपालमा एरोस्पेस (विमान तथा अन्तरिक्ष प्रविधि) सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि साझेदारी सम्झौता भएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा एयरबस दक्षिण एसियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक जर्गेन वेस्टरमेयर र त्रिविका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे।

उक्त अवसरमा नेपालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनिया कोर्टेभलको पनि उपस्थिति थियो।

सम्झौताअनुसार एयरबस र त्रिविले एरोस्पेस इन्जिनियरिङ, शिक्षण, अनुसन्धान र तालिमका क्षेत्रमा सहकार्य गर्नेछन्।

यसका साथै आर्टीफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ र साइबर सुरक्षा जस्ता डिजिटल प्रविधिसम्बन्धी पाठ्यक्रमको विकासमा पनि दुवै संस्था मिलेर काम गर्नेछन्। यस साझेदारीले विद्यार्थीहरूका लागि इन्टर्नसिप, रोजगारी र उद्योगको व्यावहारिक अनुभव प्राप्त गर्ने अवसर सिर्जना गर्नेछ।

त्रिविका उपकुलपति डा. बज्राचार्यले विश्वविख्यात एयरबससँगको सहकार्यले त्रिविको पाठ्यक्रम सुदृढ बनाउन र नेपालको उड्डयन क्षमता बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, एयरबस दक्षिण एसियाका प्रबन्ध निर्देशक वेस्टरमेयरले यस साझेदारीमार्फत नेपालको उड्डयन क्षेत्रको समग्र विकासका लागि दक्ष जनशक्ति तयार पार्न एयरबस प्रतिबद्ध रहेको बताए।

जेठ १६, २०८३ शनिबार ११:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।