वस्तु ढुवानीमा दोहोरो कर खारेज, स्थानीय तहको कर बुझाउँदा ‘प्यान’ अनिवार्य

वस्तु ढुवानीमा दोहोरो कर खारेज, स्थानीय तहको कर बुझाउँदा ‘प्यान’ अनिवार्य

काठमाडौं : सरकारले आन्तरिक बजारमा वस्तु ढुवानी गर्दा विभिन्न स्थानीय तहले लिँदै आएको दोहोरो तथा बहुकर प्रणालीलाई खारेज गर्ने घोषणा गरेको छ।

शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो व्यवस्था घोषणा गरेका हुन्।

नयाँ बजेट व्यवस्थाअनुसार अबदेखि एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एकभन्दा बढी स्थानीय तहले निकासी, कवाडी वा अन्य कुनै पनि शीर्षकमा बहुकर असुल गर्न पाउने छैनन्।

गत लामो समयदेखि व्यवसायीहरूले विभिन्न स्थानीय तह पार गर्दा पटक-पटक कर तिर्नुपरेको र यसले ढुवानी लागत बढाएको भन्दै गुनासो गर्दै आएका थिए।

यसै गरी, कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि कडाइ गर्ने भएको छ।

अबदेखि प्रदेश र स्थानीय तहमा कुनै पनि प्रकारको कर भुक्तानी गर्दा करदाताले अनिवार्य रूपमा आफ्नो स्थायी लेखा नम्बर खुलाउनुपर्ने व्यवस्था मिलाइने अर्थमन्त्री वाग्लेले जानकारी दिए।

दोहोरो करको खारेजी र प्यानको अनिवार्य प्रयोगले देशमा व्यवसाय गर्ने वातावरणमा सुधार ल्याउने बजेटमा उल्लेख छ।

जेठ १६, २०८३ शनिबार १०:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।