ढोरपाटनमा पर्यटकको ओइरो : होटल भरिभराउ, बास नपाएर सयौँ फर्किए
बागलुङ : लगातार चार दिन बिदा भएपछि ढोरपाटन उपत्यकामा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
एकै दिन सयौंको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिएपछि स्थानीय होटलहरू भरिभराउ भएका छन्। बास बस्ने ठाउँ नपाउँदा कतिपय पर्यटक भने फर्कन बाध्य भएका छन्।
बिहीबारदेखि बिदा सुरु भए पनि बुधबारदेखि नै होटलहरू बुक भइसकेका थिए।
एकै पटक ठूलो सङ्ख्यामा पर्यटक भित्रिँदा व्यवस्थापनमा कठिनाइ भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए। ढोरपाटन क्षेत्रमा हाल २७ वटा होटल र १२ वटा होमस्टे (घरबास) सञ्चालनमा छन्।
ढोरपाटनको प्रचारप्रसार बढेकाले छोटो बिदामा पनि पर्यटकहरू यहाँ आउने गरेको अध्यक्ष पुनले जानकारी दिए।
जेठ १२ गतेअघि नै बुकिङ गरेर आएका पाहुनालाई व्यवस्थापन गरिए पनि बिनाजानकारी आउनेहरूले बास पाउन नसकेको उनको भनाइ छ।
‘लामो बिदाका कारण पाहुनाको चाप थामिनसक्नु छ, होटल र होमस्टे मात्र होइन, वरपरका खाली घर पनि भरिएका छन्,’ अध्यक्ष पुनले भने, ‘मेरो सम्पर्कमा आएका करिब सय जना पर्यटक बास नपाएर फर्किए, अन्य व्यवसायीकहाँ पुगेका धेरै पाहुना पनि फर्कन बाध्य भए। अब ढोरपाटन आउनेले होटल बुकिङ गरेर मात्र आउन अनुरोध गर्दछु।’
ढोरपाटनका होटल तथा होमस्टेको कुल क्षमता दैनिक करिब ७०० पाहुना राख्ने मात्र हो। तर क्षमताभन्दा झन्डै दोब्बर पर्यटक आउँदा व्यवस्थापन गर्न गाह्रो भएको होटल व्यवसायी शिवराज कँडेलले बताए।
सामान्य दिनमा पनि पर्यटक आउने गरे पनि यस पटक बिदाका कारण एकै दिन हजारभन्दा बढी पर्यटक आइपुगेको उनको भनाइ छ।
उनले आफ्नो होटलमा ८० जना पाहुना राखेको र ठाउँ नपुगेका झन्डै २०० जनालाई अन्यत्र पठाउनु परेको सुनाए। अत्यधिक भीडका कारण ढोरपाटनमा मेला लागेजस्तो देखिएको र रहर नभई बाध्यताले पाहुना फर्काउनु परेको कँडेलले बताए।
पछिल्लो समय बुर्तिबाङ-ढोरपाटन सडक स्तरोन्नति भएसँगै यहाँ आउने पर्यटक बढेका हुन्। बुर्तिबाङ बजारबाट करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने भएपछि यो क्षेत्र थप आकर्षक गन्तव्य बनेको छ। गत वर्षसम्म यो सडक निकै जीर्ण अवस्थामा थियो।
गुल्मीबाट शुक्रबार ढोरपाटन घुम्न पुगेका महेश खड्काले होटल नपाएर बुर्तिबाङ बजार फर्कनु परेको बताए।
१३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आए पनि पहिलो दिनमै फर्कनु परेको उनको गुनासो छ। बिहीबार आइपुगेकाहरूले मात्र कोठा पाउन सकेको खड्काले जानकारी दिए।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले गर्मी छल्न र शीतलता खोज्दै यस याममा धेरै पर्यटक यहाँ आउने गरेको बताए।
एकै पटक अत्यधिक पर्यटक आउँदा गाँसबास व्यवस्थापनमा कठिनाइ हुने भन्दै उनले होटल व्यवसायीसँग समन्वय गरेर मात्र ढोरपाटन आउन पर्यटकलाई आग्रह गरे।
जेठ १६, २०८३ शनिबार ०७:३१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।