बजेटबारे संसद्का एक मात्र पूर्वअर्थमन्त्री पुनको प्रतिक्रिया : मध्यम वर्ग प्राथमिकतामा, तल्लो वर्गको उपेक्षा
काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्मा प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन्।
पुन वर्तमान संसद्मा रहेका एक मात्र पूर्वअर्थमन्त्री हुन्।
बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुम्बासीका लागि बजेटमा आशालाग्दा कार्यक्रम समावेश नगरिएको टिप्पणी गरे। बजेटमा राज्यका तर्फबाट रोजगारी सिर्जना गर्ने विषयलाई उपेक्षा गरिएको उनको भनाइ थियो।
“समग्रमा मध्यम वर्ग केन्द्रित बजेट आएको छ। तल्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्,” पुनले भने, “मजदुर, किसान, बेरोजगार युवा र सुकुम्बासीहरूका लागि कुनै सम्बोधन गरिएन। रोजगारी सिर्जना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन्। रोजगारी दिने जिम्मेवारी सबै निजी क्षेत्रको हो भनेर सरकार पन्छिन खोजेजस्तो देखिन्छ।”
पुनले नेपाल टेलिकम र नेपाल वायुसेवा निगमजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे। ‘नाफामा चलिरहेका कम्पनीको सेयर बिक्री गर्नु भनेको निजीकरणतर्फ लैजानु हो, यो ठिक छैन”, उनले भने।
सरकारको नेतृत्वकर्ता दल रास्वपाले पुराना दलहरूमाथि मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै आएको सन्दर्भ जोड्दै पुनले बजेटको स्रोतका रूपमा आन्तरिक र वैदेशिक ऋण लिने विषय उल्लेख गरिएको बताए।
अर्थमन्त्रीले ४ खर्ब १० अर्ब आन्तरिक र २ खर्बभन्दा बढी वैदेशिक ऋणबाट स्रोत जुटाउने योजना बनाएको उनको भनाइ थियो।
“रास्वपाका साथीहरू स्थापित पार्टीहरूले ऋण बढी लिएर देश डुबाए, जनताको टाउकोमा ऋणको भारी थपे भन्नुहुन्थ्यो,” पुनले भने, “तर अहिले अर्थमन्त्री आफैँले ४ खर्ब १० अर्ब आन्तरिक र २ खर्बभन्दा बढी बाह्य ऋण लिने कुरा गर्नुभएको छ।”
पुनले आफूले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरेका ‘गण्डकी त्रिभुज’ लाई ‘चतुर्भुज’, कर्णालीलाई जडीबुटीको केन्द्र बनाउने योजनालाई ‘कर्णाली चतुर्भुज’ तथा सुदूरपश्चिमलाई धार्मिक पर्यटन केन्द्र बनाउने योजनालाई ‘धार्मिक चतुर्भुज’ नामकरण गरी बजेटमा ल्याएकामा भने अर्थमन्त्रीलाई धन्यवाद दिए।
जेठ १५, २०८३ शुक्रबार २०:३२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।