बजेट वक्तव्य : मदिरा र चुरोट महँगिने, नेपाली ब्राण्डको निर्यातमा नयाँ नीति
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमार्फत मदिरा र सूर्तिजन्य पदार्थमा लाग्ने करको दरमा वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चुरोट, मदिरा र बियरमा अन्तःशुल्क बढाउने घोषणा गरेका हुन्।
बजेट वक्तव्य अनुसार चुरोटमा करिब १० प्रतिशतले अन्तःशुल्क वृद्धि गरिएको छ।
त्यसैगरी, मदिरा र बियरमा लाग्दै आएको अन्तःशुल्कमा पनि पुनरावलोकन गर्दै वृद्धि गरिएको छ। यसले गर्दा आगामी साउन १ गतेदेखि बजारमा चुरोट र मदिराजन्य उत्पादनको मूल्य बढ्नेछ।
सरकारले केवल कर मात्र बढाएको छैन, नेपाली ब्राण्डका मदिरालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य पनि राखेको छ।
बजेटमा उल्लेख भएअनुसार नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्द्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन र ‘मेचुरेसन’ कार्यलाई विशेष प्रोत्साहन दिइनेछ।
यसबाट स्वदेशी कच्चा पदार्थमा आधारित उच्च गुणस्तरको मदिरा विदेश निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्ने बाटो खुल्ने सरकारको विश्वास छ।
बजेटले स्थानीय स्तरमा सञ्चालनमा रहेका ‘माइक्रो ब्रुअरी’ (साना बियर उद्योग) हरूलाई पनि औपचारिक दायरामा ल्याउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई मदिरा उद्योगका रूपमा दर्ता गरी अनिवार्य रूपमा अन्तःशुल्कको दायरामा ल्याइने व्यवस्था मिलाइएको छ।
मदिरा र सूर्तिजन्य पदार्थमा हुने कर छली र अवैध व्यापार रोक्न सरकारले कडा कदम चाल्ने भएको छ।
अर्थमन्त्री वाग्लेले अन्तःशुल्क चुहावट नियन्त्रण गर्न ‘विद्युतीय ट्र्याक एण्ड ट्रेस’ प्रणाली सुरु गर्ने घोषणा गर्नुभएको छ। यसका साथै अब डिजिटल अन्तःशुल्क टिकटको पनि सुरुवात गरिनेछ।
बजेटले भौतिक नियन्त्रणमा आधारित विद्यमान अन्तःशुल्क प्रशासनलाई क्रमशः जोखिममा आधारित 'स्वयं निष्कासन' प्रणालीमा रूपान्तरण गर्ने नीति लिएको छ।
जेठ १५, २०८३ शुक्रबार २०:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।