नेप्सेको पुनर्संरचनादेखि विदेशी बजारमा पहुँचसम्म
काठमाडौं : सरकारले पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्ने नीति अघि सारेको छ।
अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्रलाई सुदृढ गरिने बताए।
बजेटमार्फत सेयर बजारमा आधुनिक वित्तीय उपकरणहरूको प्रवेश गराउने योजना सार्वजनिक गरिएको छ। जसअन्तर्गत नेप्सेको पुनर्संरचना प्रक्रिया अघि बढाउँदै इन्ट्रा-डे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणहरू चरणबद्ध रूपमा सुरुवात गरिने बजेटमा उल्लेख गरे।
बजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारले शून्य सहनशीलताको नीति लिने भएको छ। विशेषगरी सेयर कर्नरिङ र इन्साइडर ट्रेडिङ जस्ता क्रियाकलाप रोक्न नियमनकारी व्यवस्थालाई प्रभावकारी बनाइने अर्थमन्त्रीले बताए।
नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा समेत पहुँच पुर्याउन नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। नेपाली कम्पनीहरूले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने गरी ‘ग्लोबल डिपोजिटरी रिसिट’ जारी गर्न पाउने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।
जेठ १५, २०८३ शुक्रबार १७:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।