ऊर्जा क्षेत्रका लागि ८५ अर्ब विनियोजन, बूढीगण्डकी आयोजना सुरु गरिने र हेटौँडामा 'ग्रीन हाइड्रोजन प्लान्ट' स्थापनाको घोषणा
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा सुरक्षा, हरित ऊर्जा प्रविधिको विकास र कृषिको आधार स्तम्भ मानिएको सिँचाइ क्षेत्रको विस्तारमा ठूलो लगानी गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा जलस्रोतको बहुआयामिक उपयोग र स्वदेशी व्यवसाय प्रवर्द्धनलाई विशेष जोड दिइएको छ।
आगामी आर्थिक वर्षमा ऊर्जा क्षेत्रको समग्र विकास र विस्तारका लागि सरकारले ८५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवको जलाशययुक्त ‘बूढीगण्डकी जलविद्युत् आयोजना’ को निर्माण कार्य यसै वर्षदेखि विधिवत रूपमा सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ।
यसैगरी, नेपाललाई स्वच्छ र नवीकरणीय ऊर्जाको केन्द्र बनाउने नीतिअनुरूप मकवानपुरको हेटौँडामा व्यावसायिक स्तरको ‘ग्रीन हाइड्रोजन प्लान्ट’ स्थापना गरिने नवीन कार्यक्रम बजेटमा समेटिएको छ।
कृषि उत्पादकत्व बढाउन आगामी आर्थिक वर्षभित्र थप १५ हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य सरकारले राखेको छ।
सिक्टा सिँचाइ आयोजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन, सतह सिँचाइको पहुँच नपुगेका ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न ३ अर्ब रुपैयाँ विनियोजन तथा सुनसरी-मोरङ पम्प नहर लगायतका विभिन्न सिँचाइ प्रणालीहरूको मर्मतसम्भार र सुदृढीकरणका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित सिँचाइ आयोजनाहरूलाई गुणस्तरीय र दिगो बनाउन विशेष प्राथमिकता दिइने बजेटमा उल्लेख छ।
स्वदेशी लगानी र उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकारले व्यवसायमैत्री वातावरण निर्माण गर्ने घोषणा गरेको छ।
नेपालमा वैधानिक रूपमा दर्ता भई सञ्चालनमा रहेका घरेलु तथा साना व्यवसायदेखि ठूला कम्पनीहरूलाई बिनाझन्झट व्यवसाय सञ्चालन र विस्तार गर्न आवश्यक कानुनी तथा प्रशासनिक सहजीकरण गरिने प्रतिबद्धता बजेटमार्फत व्यक्त गरिएको छ।
जेठ १५, २०८३ शुक्रबार १७:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।