आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गरिने, राष्ट्रव्यापी सडक मर्मतका लागि २८ अर्ब विनियोजन

आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गरिने, राष्ट्रव्यापी सडक मर्मतका लागि २८ अर्ब विनियोजन

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत भौतिक पूर्वाधार, रणनीतिक सडक सञ्जालको विस्तार र सुरक्षित सार्वजनिक यातायातलाई उच्च प्राथमिकता दिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा राष्ट्रिय गौरवका राजमार्ग, पुल र रेलमार्ग निर्माणका लागि ठूलो रकम विनियोजन गरिएको छ।

बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षभित्र देशभरी थप १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

यसका साथै राष्ट्रिय राजमार्गहरूमा निर्माणाधीन कम्तीमा ४० वटा पुलहरूको काम एक वर्षभित्रै सम्पन्न गरिने घोषणा गरिएको छ।

प्रमुख राजमार्गहरूको स्तरोन्नतिका लागि बजेटमा पृथ्वी राजमार्गलाई ६ अर्ब, हुलाकी राजमार्गलाई ४ अर्ब, मदन भण्डारी राजमार्गलाई १ अर्ब ४६ करोड रुपैयाँ र कर्णाली राजमार्गलाई १ अर्ब रुपैयाँ छुट्याइएको  छ।

यसका साथै सुदूरपश्चिम क्षेत्रको व्यापारिक तथा रणनीतिक महत्त्व बोकेको महाकाली करिडोरको बाँकी खण्डको ट्र्याक खोल्ने कार्यलाई तीव्रता दिइने बजेटमा उल्लेख छ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौँ चक्रपथ (रिङ रोड) विस्तारको दोस्रो खण्डको काम सुरु गरिने भएको छ।

उपत्यकासहित मुलुकभरका सडकहरूको खाल्डाखुल्डी पुर्न र नियमित मर्मत–सम्भारका लागि आगामी वर्ष २८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यस बजेटबाट सडकहरूको गुणस्तर सुधार र यात्रा सहज बनाउन ठूलो मद्दत पुग्ने सरकारको अपेक्षा छ।

रेलमार्ग पूर्वाधारतर्फ बर्दिवास-काठमाडौं रेलमार्गको निर्माण प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइने बजेट वक्तव्यमा उल्लेख छ।

शहरी क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन सरकारले नयाँ योजना अघि सारेको छ। यसमा  सिसिटिभी क्यामेरा जडित अत्याधुनिक र सुरक्षित ‘ब्लु बस’ सेवा सुचारु गरिने बजेटमा घोषणा गरिएको छ।

यसले सार्वजनिक सवारी साधनमा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र सेवालाई विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

जेठ १५, २०८३ शुक्रबार १७:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।