विद्युत् प्राधिकरण टुक्र्याएर छुट्टाछुट्टै कम्पनी बनाइने, पोखरामा विद्युतीय बस र तार भूमिगत गर्ने योजना
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रमा व्यापक संरचनागत सुधार, शहरी आधुनिकीकरण र पर्यावरणमैत्री सार्वजनिक यातायातलाई प्राथमिकतामा राखेको छ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा क्षेत्रको विकास र यससँग सम्बन्धित पूर्वाधारका लागि नयाँ योजनाहरू घोषणा गरेका छन्।
बजेट वक्तव्यअनुसार नेपाल विद्युत् प्राधिकरणको कार्यसम्पादनलाई थप विशिष्टीकृत र व्यावसायिक बनाउन यसको संगठनात्मक ढाँचामा परिमार्जन गरिने भएको छ।
प्राधिकरण अन्तर्गत भइरहेका कार्यहरूलाई व्यवस्थित गर्न उत्पादन, प्रसारण र व्यापार (वितरण) का लागि छुट्टाछुट्टै विशिष्टीकृत कम्पनी स्थापना गरिने नीति लिइएको छ।
यसका साथै आन्तरिक तथा बाह्य बजारमा विद्युत् व्यापारलाई प्रतिस्पर्धी बनाउन आवश्यक कानुनी व्यवस्थासहित नयाँ विद्युत् व्यापारसम्बन्धी कानुन निर्माण गरिने घोषणा बजेटमा गरिएको छ।
ऊर्जाको आन्तरिक खपत बढाउन र शहरी सौन्दर्यीकरणलाई प्रवर्द्धन गर्न विद्युतीय तारहरूलाई भूमिगत (अन्डरग्राउन्ड क्याबलिङ) गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बजेटमा उल्लेख छ।
यसैगरी, हरित ऊर्जाको प्रयोग बढाउन र दिगो यातायात प्रणाली विकास गर्न पर्यटकीय नगरी पोखरा उपत्यकामा विद्युतीय बसमार्फत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ।
भौतिक पूर्वाधार विकासतर्फ बजेटले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग र पूर्व-पश्चिम राजमार्गको बाँकी रहेका खण्डहरूको निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाई सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
मुलुकको आर्थिक विकासका लागि उच्च सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रका लागि विशेष नीतिगत व्यवस्था र भौतिक पूर्वाधारका योजनाहरू एकसाथ अगाडि बढाइनेछ।
शिक्षा क्षेत्रतर्फ विद्यार्थीहरूको जग बलियो बनाउने उद्देश्यले विद्यालय तहमा गणित विषयको पठनपाठन र सिकाइलाई विशेष प्राथमिकता दिने नीति सरकारले अघि सारेको छ।
जेठ १५, २०८३ शुक्रबार १६:४४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।