एआईमा आधारित अर्थतन्त्रको विकास गरिने, वायुसेवा निगम कम्पनी मोडलमा रूपान्तरण हुने

एआईमा आधारित अर्थतन्त्रको विकास गरिने, वायुसेवा निगम कम्पनी मोडलमा रूपान्तरण हुने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सार्वजनिक खर्चको पुनरावलोकन गर्दै वित्तीय चाप घटाउने र अर्थतन्त्रलाई आधुनिक प्रविधितर्फ डोर्याउने नीति लिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यमा सरकारी स्रोतको दक्षता वृद्धि, रणनीतिक भण्डारण र सूचना प्रविधिको विकासलाई प्राथमिकता दिइएको छ।

बजेटमा सरकारी खर्चमा सन्तुलन कायम गरी सरकारको वित्तीय चाप घटाउने नीति अघि सारिएको छ।

वित्तीय सुशासन र अन्तर्राष्ट्रिय साख जोगाउन नेपाललाई सम्पत्ति शुद्धीकरणको सम्भावित जोखिमको सूचीबाट छिटोभन्दा छिटो हटाउन आवश्यक कानुनी र संस्थागत सुधारलाई तीव्रता दिइने बजेटमा उल्लेख छ।

यसैगरी, लामो समयदेखि व्यवस्थापकीय र वित्तीय समस्यामा अल्झिएको नेपाल वायुसेवा निगमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन कम्पनी मोडलमा रूपान्तरण गरिने भएको छ।

विगत लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखाकाली रबर उद्योगलाई पुनः सञ्चालन गर्न सार्वजनिक-निजी साझेदारी वा निजी क्षेत्रको लगानी भित्र्याउने घोषणा बजेटमार्फत गरिएको छ।

मुलुकको ऊर्जा सुरक्षालाई मजबुत बनाउन कम्तीमा तीन महिनाको माग धान्न सक्ने इन्धन भण्डारण गृह निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

सूचना प्रविधि क्षेत्रलाई रोजगारी र विदेशी मुद्रा आर्जनको मुख्य स्रोतका रूपमा विकास गर्न नेपालमै बसेर विदेशी कम्पनीहरूका लागि काम गर्न सकिने कानुनी र प्राविधिक सहजता प्रदान गरिने बजेटमा उल्लेख छ।

यसै सिलसिलामा, नेपाललाई आधुनिक डिजिटल युगमा प्रवेश गराउन एआई (कृत्रिम बुद्धिमत्ता) मा आधारित अर्थतन्त्रको विकासमा जोड दिइने भएको छ।

एआई प्रविधिको विकास र अनुसन्धानका लागि काठमाडौंको स्यूचाटारमा एउटा अत्याधुनिक एआई कम्प्युटिङ सेन्टर स्थापना गरिने घोषणा बजेटमा गरिएको छ।

जेठ १५, २०८३ शुक्रबार १६:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।