तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित ‘तेज’ ब्रान्डको तोरीको तेल गुणस्तरहीन पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको थियो। विभागले जारी गरेको सूचनाअनुसार तेल गुणस्तर न्यूनस्तरको पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो।
विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ। साथै सो तेलको बिक्री वितरण नगर्न पनि आदेश जारी गरिएको विभागले जनाएको छ।
फिर्ता गर्न भनिएको तेल उत्पादन रुपन्देहीको गुरबानियामा आयातित तोरीबाट उत्पादन गरिएको तेज ब्रान्डको हो। उक्त तेलको ब्याच नम्बर २० रहेको, उत्पादन मिति २०८२ फागुन २८ तथा उपभोग्य अवधि ६ महिना उल्लेख गरिएको छ।
जेठ १५, २०८३ शुक्रबार १५:३८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।