उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता
काठमाडौं : उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच शुक्रबार पार्टी एकता भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित एक कार्यक्रममा दुवै पक्षले समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे।
समझदारी पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए। समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा समायोजन भयो।
दुवै पक्षबीच भएको सहमतिमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने साझा प्रतिबद्धता गरिएको छ।
साथै दलित समुदायको अधिकार, पछाडि पारिएका वर्गको प्रतिनिधित्व तथा कमजोर समुदायको आवाजलाई राजनीतिक मूलधारमा स्थापित गर्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ।
सहमतिअनुसार जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार र कुशासनविरुद्धको अभियानलाई निरन्तरता दिने, घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्ने तथा विभेदमा परेका जाति, क्षेत्र, लिङ्ग र वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने छ।
त्यसैगरी, दलित समुदायमाथि हुने जातीय छुवाछूत, विभेद र बञ्चितीकरण अन्त्यका लागि नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख छ। राज्य सत्ता तथा पार्टी संगठनमा जनसंख्याको अनुपातमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा हाम्रो पार्टी नेपालका नेता-कार्यकर्तालाई उचित जिम्मेवारी र सम्मानजनक हैसियत प्रदान गर्ने सहमति पनि भएको छ।
उज्यालो नेपाल पार्टीले उक्त समायोजनलाई नयाँ राजनीतिक संस्कार, साझा उद्देश्य र जिम्मेवार राजनीतिक अभ्यासतर्फको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। पार्टीका मुख्यसचिव डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा समायोजनले समानता, सामाजिक न्याय र सुशासनको पक्षमा उभिएका शक्तिहरूबीच सहकार्य र एकताको सकारात्मक सन्देश दिएको उल्लेख गरिएको छ।
पार्टीले आगामी दिनमा सबै पक्षको सहयोग र सक्रिय सहभागितामार्फत सुशासन, समृद्धि र सामाजिक न्यायसहितको ‘उज्यालो नेपाल’ निर्माण अभियानलाई अझ सशक्त बनाइने जनाएको छ।
जेठ १५, २०८३ शुक्रबार १४:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।