संसद्को ‘कामचलाउ हल’बाटै आगामी आर्थिक वर्षको बजेट, दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

संसद्को ‘कामचलाउ हल’बाटै आगामी आर्थिक वर्षको बजेट, दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ।

अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ।

बजेट सार्वजनिक गर्नुअघि दिउँसो साढे २ बजे बजेट पारित गर्नका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेपछि प्रधानमन्त्री र मन्त्रीहरूसँगै अर्थमन्त्री वाग्ले संसद् बैठकमा सहभागी हुनेछन्।

यसअघि सरकार र संसद् सचिवालयले निर्माणाधीन संसद् भवनको नयाँ हलबाट बजेट सार्वजनिक गर्ने तयारी गरेका थिए।

तर, नयाँ हलको भौतिक संरचना तयार भए पनि केही प्राविधिक कामहरू बाँकी रहेकाले आजको बजेट भाषण पुरानै बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ।

गत चैत १२ गतेदेखि नै प्रतिनिधिसभाको बैठक सोही बहुउद्देश्यीय हलमा बस्दै आएको छ। मन्त्रिपरिषद्को स्वीकृति र संसद्को संयुक्त बैठकमा प्रस्तुतीकरणसँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको दिशामा अगाडि बढ्नेछ।

जेठ १५, २०८३ शुक्रबार १३:१७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।