महेश बुढाथोकीका हिजोको कुरा : रेडियो नेपालले नपत्याएका गायक, जसको गीतले इतिहास रच्यो!

महेश बुढाथोकीका हिजोको कुरा : रेडियो नेपालले नपत्याएका गायक, जसको गीतले इतिहास रच्यो!

काठमाडौं : ‘काफलगेडी कुटुक्कै’- नेपाली लोक सङ्गीतको एउटा यस्तो कालजयी भाका, जसलाई नसुन्ने वा यसमा नझुम्ने कमै होलान्। तर, यो चर्चित गीतका सर्जक महेश बुढाथोकीको जीवनकथा भने कुनै चलचित्रको पटकथाभन्दा कम छैन। 

वि.सं. २०२१ सालमा झापाको धुलाबारीमा जन्मिएका बुढाथोकीको बाल्यकाल कहिले तराईका फाँट त कहिले पुर्ख्यौली थलो सङ्खुवासभाका पहाडी कन्दराहरूमा बिते। उनको शिक्षादीक्षा पारिवारिक बसाइसराइसँगै कहिले झापा त कहिले मोरङतिर भयो। 

वि.सं. २०४१ सालमा उर्लाबारीको सुनपकुवा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्दा उनीभित्र एउटा गायकको बीउ अङ्कुराइसकेको थियो। तत्कालीन पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा गाउँ-गाउँमा गुन्जने जनवादी गीतहरू नै उनका लागि सङ्गीतको पहिलो पाठशाला बने। कुनै राजनीतिक सङ्गठनमा आबद्ध नभए पनि केवल गायनप्रतिको रुचि र मोहले उनलाई जनवादी कार्यक्रमहरूको स्टेजसम्म पुर्यायो, त्यही उनको स्वरलाई निखार्ने अवसर बन्यो।

उनको साङ्गीतिक यात्रा २०५० सालमा ‘माझी दाइ’ एल्बमबाट सुरु भयो। तर, यो यात्रा सोचेजस्तो सहज थिएन। रेडियो नेपालको गेटबाट छिर्नै मुस्किल पर्ने त्यो समय, काठमाडौंका स्टुडियोहरूको तिरस्कार र आर्थिक अभावले उनलाई लखेट्यो। तर, उनको लगावले उनलाई हार मान्न दिएन। परिणामस्वरूप, ‘काफलगेडी कुटुक्कै’, ‘होस गर है सोल्टिनी’, ‘साइली र माइली शहरै पसे’ जस्ता दर्जनौं चर्चित गीतहरू नेपाली साङ्गीतिक आकाशमा गुन्जिए।

एउटा विद्यालयको शिक्षकदेखि रातारात राष्ट्रिय चर्चामा छाएका गायकसम्मको यो यात्राभित्र कति आँसु, कति अभाव र कति सङ्घर्ष लुकेका छन् ? रेडियो नेपालले नपत्याएका तिनै गायकको सफलता र भोगाइ उनकै शब्दमा :

बाल्यकाल
मेरो जन्म वि.सं. २०२१ सालमा झापाको धुलाबारीमा भएको हो। हामी पाँच दाजुभाइ र एक बहिनी छौं, जसमा म माइलो छोरा हुँ। मेरो सम्झनामा त्यसबेला धुलाबारीमा फरेन मार्केट थियो, जहाँ भारतदेखि चीनसम्मका सबै सामानहरू किन्न पाइन्थ्यो। धुलाबारीको बजार निकै चल्तीको थियो र त्यहाँ पाइने सामान अरू ठाउँमा सजिलै पाइँदैनथ्यो। कतिपय चिनियाँ सामानहरू त इन्डियामा पनि पाइँदैन भन्थे।

म धुलाबारीभन्दा केही माथि खुट्टीडाँगी भन्ने ठाउँको प्राथमिक विद्यालयमा तीन कक्षासम्म पढेँ। यो २०३० सालतिरको कुरा हो। त्यसपछि धुलाबारीकै ठूलो स्कुलमा पढ्न थालेको थिएँ। तर, बुबाका दाजुभाइहरूले पुर्ख्यौली थलो सङ्खुवासभा नै जानुपर्छ भनेपछि हामी त्यता गयौं। सङ्खुवासभा पुगेको एक वर्षमै हामी फेरि तराई झर्यौं र उर्लाबारीको सुनपकुवा माध्यमिक विद्यालयमा पढ्न थालेँ। सोही स्कुलबाट मैले २०४१ सालतिर एसएलसी दिएको हुँ।

त्यस बेलाको पढाइ अहिलेको भन्दा फरक थियो। अहिलेको जस्तो सात वटा मात्र नभएर करिब नौ वटा किताब बोकेर स्कुल जानुपर्थ्यो। विद्यालयमा धेरै परिपक्व र अनुभवी शिक्षकहरू हुँदैनथे; स्कुलले शिक्षकहरू खोजखाज गरेर जसोतसो पठनपाठन चलाउँथ्यो। अहिलेको तुलनामा त्यसबेला धेरै अभाव थियो। मेरो पढाइको कुरा गर्दा, म कक्षाको 'टप टेन' भित्रै पर्थें।

शिक्षण पेशाका १७ वर्ष
मैले आफ्नो जीवनको १७ वर्ष शिक्षण पेशामा बिताएँ। मैले अर्थशास्त्र (इकोनोमिक्स) मा डिप्लोमासम्मको अध्ययन गरेको छु र सोही क्रममा विभिन्न विद्यालयहरूमा पढाउने अवसर पाएँ।

एसएलसी सकेपछि म काठमाडौंको रत्न ज्योति कलेजमा भर्ना भएको थिएँ। त्यतिबेला काठमाडौं बसेर पढ्न बुवाआमाको आर्थिक अवस्थाले धान्न सक्ने अवस्था थिएन। मलाई पनि पैसाको खाँचो थियो। त्यही समयमा एक जना साथीमार्फत पर्वत जिल्लामा नयाँ खुलेको बोर्डिङ स्कुलमा शिक्षक चाहिएको खबर पाएँ। त्यसपछि हामी दुई जना साथी शिक्षकका रूपमा त्यसतर्फ लाग्यौं।

त्यसबेला अहिलेको जस्तो मोटरबाटोको सुविधा थिएन। पर्वतको मोदीखोला तरेर उकालो चढेपछि एउटा सम्म ठाउँमा ठूलो वर-पिपलको रुख थियो, हामी हिँडेरै त्यहाँ पुगेका थियौं। उमेरको जोसले होला, बाटो हराइने वा अरू कुनै कुराको डर-पिर मनमा थिएन। केही समय त्यहाँ पढाएपछि म दसैं मान्न घर आएँ। तर २०४४ सालतिर देशभरि भीषण वर्षा भएर बाटोघाटो सबै बन्द भयो। यातायातका साधन नचलेपछि मोरङको पथरीबाट पुनः पर्वत जान सम्भव भएन र म घरमै रोकिएँ।

घरमै बसिरहेका बेला म धनकुटाको महाभारत गाउँपालिका (भेडेटारबाट केही भित्र पर्ने ठाउँ) पुगेँ। मेरो गाउँकै एक जना साथी त्यहाँको विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो। उहाँको विद्यालयमा गीत-सङ्गीत, नाचगान, खेलकुद र मार्सल आर्टसमेत जान्ने बहुमुखी शिक्षकको खोजी भइरहेको रहेछ। यी सबै खुबीहरू मसँग भएकाले मलाई त्यहाँ पढाउन बोलाइयो। मैले धेरै वर्ष त्यही विद्यालयमा बिताएँ र पछि अन्य विद्यालयहरूमा पनि पढाउन पुगेँ।

जनवादी गायन र स्वरको निखार
म सानैदेखि गायनमा रुचि राख्ने मान्छे हुँ। सङ्खुवासभाबाट तराई झरेपछि हामी मोरङको इटहरामा बसोबास गर्न थाल्यौं र म त्यहीँको सिजुवा स्कुलमा पढ्न थालेँ। २०३६ सालतिरको कुरा हो, स्कुलमा मेरो हरि बिसी भन्ने घनिष्ठ साथी थिए। उनी तत्कालीन वामपन्थी विद्यार्थी सङ्गठनका प्रखर नेता थिए।

त्यस समयमा जेबी टुहुरेको गीति कार्यक्रम थियो, म त्यस कार्यक्रमको प्रशंसक थिएँ। त्यसैले मलाई जनवादी गीत गाउन प्रोत्साहित गर्यो। मैले धेरै जनवादी गीतहरू गाएँ, जसले मेरो स्वरलाई निखार्ने राम्रो अवसर दियो। यद्यपि, म कुनै राजनीतिक सङ्गठनमा भने आबद्ध थिइनँ; गीत गाउन मनपर्ने भएकाले मात्र कार्यक्रममा म गीत गाउन गएको थिएँ।

त्यस बेला जनवादी गीत गाउने र कार्यक्रम गर्नेहरूलाई प्रहरीले समाउँथ्यो। अझ सङ्गठनमा लागेकाहरूको त नाम सोधी-सोधी खोजी हुन्थ्यो। म कुनै सङ्गठनमा नरहेकाले र त्यतिबेलासम्म स्टेज कभर गर्ने गरी मेरो चर्चा भइसकेको नभएकाले म प्रहरीको नजरमा परिनँ र पक्राउ हुनबाट जोगिएँ।

रेडियो नेपालको सङ्घर्ष र छ गीतको रेकर्डिङ
२०५०-५१ सालतिरको कुरा हो, मलाई आफू अब गायक बन्न सक्छु भन्ने आत्मविश्वास पलाइसकेको थियो। सोही समयमा मैले 'माझी दाइ' नामक एल्बम पूर्वकै वितरकमार्फत बजारमा ल्याएको थिएँ। त्यतिबेला रेडियो नेपालमा प्रवेश पाउन निकै कठिन थियो। 

सिंहदरबारभित्र छिरेर रेडियो नेपालका कर्मचारीहरूसँग भेट्ने र अवसर माग्ने वातावरण सहज थिएन। धेरै पटक गेटसम्म पुग्ने र प्रयास गर्ने काम त गरियो, तर त्यहाँ गीत रेकर्ड गर्ने अवसर जुरेन। रेडियो नेपालबाट 'क्वालिफाइड' कलाकारका रूपमा अघि बढ्न नसकेपछि म केही निराश हुँदै आफ्नै गाउँ फर्किएँ।

म धनकुटाको विद्यालयमा शिक्षण पेशामै थिएँ। तर, मनमा आफ्नै एल्बम निकाल्ने इच्छा मरेको थिएन। त्यसैले मैले छ वटा गीतहरू तयार पारेँ। २०५९ को अन्त्यतिर ९ दिनको छुट्टी लिएर, केही पैसाको जोहो गरी म काठमाडौं आएँ। त्यतिबेला मेरो साथी कुन्दन राई काठमाडौंको एउटा स्टुडियोमा एरेन्जर र रेकर्डिस्टका रूपमा काम गर्थे। उनलाई भेटेर मैले आफ्नो बजेट र समयको सीमा बताएँ र एक साताभित्र काम सक्नुपर्ने कुरा राखेँ।

सुरुका केही दिन तयारीमै बिते। एरेन्ज र बाजागाजाको काम सकिएपछि गायिका सिन्धु मल्लको 'भोकल' रेकर्ड भयो। तर, मेरो पालो आएपछि प्राविधिकहरूले मलाई स्वरलाई आराम दिन १०-१५ दिन कुर्न सल्लाह दिए। मेरो स्कुलको छुट्टी सकिन लागेकाले मैले ढिलाइ गर्न मानिनँ र तुरुन्तै रेकर्ड गर्ने अडान राखेँ। 

अरू गायकहरूलाई एउटै गीत गाउन दुई-तीन दिन लाग्ने रहेछ, तर मैले अढाई घण्टाभित्रै सबै छ वटा गीत गाएर सिध्याइदिएँ। गीत रेकर्ड भएपछि तुरुन्तै 'मास्टर' तयार गर्न लगाएर एक म्युजिक कम्पनीमा बुझाएँ र म आफ्नो काममा फर्किएँ।

काफलगेडी कुटुक्कै ५० हजारमा बेचेर हिँडे
त्यस समयमा क्यासेट कम्पनीहरूले कलाकारको चर्चा र नाम हेरेर मात्र गीत लिने गर्थे। 'काफलगेडी कुटुक्कै' तयार भएपछि मैले सबैभन्दा पहिले म्युजिक नेपालमा पुर्याएँ, जहाँ खेम गुरुङ लगायतका स्थापित गायकहरूका गीत चल्थे र उनीहरूले राम्रो रोयल्टी पनि पाउँथे। तर, म्युजिक नेपालको गीत छनोट शाखाका जिम्मेवार व्यक्तिले मेरो गीत चल्दैन भनेर लिन मानेनन्। उनी आफैँ पनि पूर्वीय भाकाका सर्जक थिए र आफ्नो सिर्जनाबाहेक अरूले ल्याएका पूर्वीय गीतलाई कमै महत्त्व दिने उनको स्वभाव थियो। त्यसैले मेरो गीत त्यहाँ अस्वीकृत भयो।

म्युजिक नेपालबाट निराश भएपछि म 'काफलगेडी कुटुक्कै'को मास्टर टेप बोकेर धेरै क्यासेट सेन्टरहरूमा भौँतारिएँ। मेरो बिदा सकिन लागेकाले मलाई घर फर्कनुपर्ने हतारो थियो, तर कसैले पनि गीत लिन रुचि देखाएनन्। त्यतिबेला निकै चल्तीमा रहेको धौलागिरि क्यासेट सेन्टरमा पनि पुगेँ, तर त्यहाँका सञ्चालकले अहिले गीत निकाल्न छोडिसकेको बताए।

पूर्वीय भाकाका क्यासेट निकाल्ने कम्पनीहरूले मलाई नपत्याएपछि र कतै केही सीप नलागेपछि म 'रञ्जना म्युजिक' पुगेँ। यो कम्पनीले पश्चिमेली भेगका गीत-सङ्गीत मात्र निकाल्ने गर्थ्यो। तर त्यहाँ एउटा रोचक संयोग भयो- पश्चिमेली गीतहरूमा काम गर्ने मान्छेहरूले मेरो पूर्वीय भाकाको गीत मन पराइदिए।

कम्पनीका सञ्चालकले मलाई भने, "तपाईंको गीत हामीलाई मन पर्यो। हामी मार्केटिङ गरिदिन्छौं, तर रोयल्टीमा सम्झौता गर्दैनौं। तपाईं यो गीत कतिमा बेच्नुहुन्छ ? बेचेर जानुहोस्।"

घर फर्कने समय भइसकेको र गीत कतै नबिकेकाले मैले धेरै सोच्न सकिनँ। अन्ततः आफ्नो निकै मिहिनेतले तयार पारेको त्यो गीत मैले ५० हजार रुपैयाँमा बेचेर घर फर्किने निर्णय गरेँ।

'काफलगेडी कुटुक्कै'को सफलता
त्यतिबेला मेरो स्कुलको बिदा सकिइसकेको थियो र काठमाडौंमा थप बस्ने समय मसँग थिएन। म ठूलो दोधारमा परेँ- कि त त्यो एल्बमको मास्टर टेप बोकेर गाउँ नै फर्किनुपर्थ्यो, कि त कम्पनीले भनेको दाममा छोडिदिनुपर्थ्यो। शिक्षकको सामान्य तलब थियो, त्यसमाथि गाउँका साथीभाइसँग ५-१० हजार सापटी मागेर काठमाडौं आएको थिएँ।

मैले हिसाब गरेँ- छ वटा गीत रेकर्ड गर्दा मेरो ३० हजार रुपैयाँ खर्च भएको थियो। रञ्जना म्युजिकले 'काफलगेडी कुटुक्कै' सहितको त्यो एल्बमका लागि मलाई ५० हजार रुपैयाँ अफर गरेको थियो। लागतभन्दा २० हजार बढी नै थियो, फेरि काठमाडौंमा अझै बस्दा थप खर्च मात्र हुने डर थियो। त्यसैले अन्ततः ५० हजारमा एल्बम बेचेर म घर फर्किएँ।

त्यसपछि रञ्जना म्युजिकले त्यो एल्बमको मार्केटिङमा निकै मिहिनेत गर्यो। अचम्मको कुरा त के भने, कुनै भिडियो नबनाई अडियोको भरमै यो गीत देशभरि फैलियो। गीत यति धेरै चल्यो कि कम्पनीलाई क्यासेट उत्पादन गर्न भ्याइनभ्याई भयो, बजारमा त्यसको ठूलो माग थियो।

त्यो गीतको सफलतासँगै म पनि कलाकार बनेँ। मलाई विभिन्न स्टेज कार्यक्रमहरूमा बोलाउन थालियो र म निकै व्यस्त हुन थालेँ। चर्चा त धेरै भयो, तर मैले एकमुष्ट रकममा गीत बेचिसकेकाले क्यासेट बिक्रीको रोयल्टी पाइनँ। पछि सिआरबिटी र पिआरबिटीबाट हुने आम्दानी पनि कसले लग्यो, मलाई थाहा भएन। 

यदि त्यो समयमा ममा व्यावसायिक समझदारी हुन्थ्यो र सबै अधिकार मसँगै रहन्थे भने आज मेरो आर्थिक अवस्था अझ सहज हुने थियो होला। तैपनि, त्यो गीतले मलाई जुन अवसर र पहिचान दियो, त्यसमा म सन्तुष्ट छु।

परिवर्तित समय र प्रविधिको सहजता
अहिलेको समय पहिलाको तुलनामा गायक-गायिकाका लागि निकै सहज भएको छ। हामीले जस्तो अवसर पाउनकै लागि धेरै सङ्घर्ष गरिरहनु पर्दैन। अहिले न रेडियो नेपालमै गीत रेकर्ड गर्नुपर्ने बाध्यता छ, न त क्यासेट कम्पनीका मालिकहरूलाई "मेरो गीत निकालिदिनुहोस्" भन्दै गुहार्नु नै पर्छ। मभन्दा अघिल्ला पुस्ताका अग्रजहरूले त झन् कति धेरै हन्डर र दुःख भोग्नुभयो होला!

अहिले त जताततै रेकर्डिङ स्टुडियोहरू छन्। गीत सार्वजनिक गर्न कुनै ठूलो कम्पनी पनि चाहिँदैन। आफ्नो युट्युब च्यानल खोल्यो र गीत अपलोड गरिदियो भने संसारभर पुग्छ। हाम्रो समयमा यस्तो प्रविधि र सुविधा केही पनि थिएन।

एउटा रोचक कुरा, सुरुमा मलाई रेडियो नेपाल छिर्नै मुस्किल भएको थियो। तर जब मेरो गीत 'काफलगेडी कुटुक्कै' चर्चित भयो, रेडियो नेपाल आफैँले मेरा गीतहरू दर्ता गरेर बजाइदियो र मेरो अन्तर्वार्ता पनि लियो। सफलताले नै ढोका खोल्ने रहेछ भन्ने अनुभव मलाई त्यतिबेला भयो।

अहिलेको प्रविधि अझै अगाडि बढेको छ; कतिपय गीतहरू त एआईबाटै बन्न थालेका छन्। आजभोलिका कलाकारहरू गायनको साधना र मौलिकता भन्दा पनि प्रविधितर्फ बढी केन्द्रित भएको देख्छु।
 

जेठ १४, २०८३ बिहीबार २२:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।