जेनजी आन्दोलनमा विद्यार्थीलाई मानव ढाल बनाएर हिंसात्मक बनाइयो, टिओबी र सुधनको गतिविधि सबैभन्दा शंकास्पद
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले २०८२ भदौ २३ को जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन पहिल्यै योजना बनाएर विद्यार्थीहरुलाई स्कुलको पोशाकमा बोलाएर मानव ढाल बनाएर खुलाएको छ।
बुधवार सार्वजनिक भएको आयोगको प्रतिवेदनको सिफारिससहितको खण्डमा जेनजी आन्दोलनको आयोजकमध्ये एक समूह शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको र एक पक्ष आन्दोलनलाई हिंसात्मक बनाउन पहिल्यै पेट्रोल बमसहितको तयारी गरेको उल्लेख गरेको छ।
भदौ १२ गते तत्कालीन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि देशका नवयुवा र विद्यार्थीहरू २३ गते माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका थिए जुनपछि इतिहासकै हिंसात्मक झडपमा बदलिएको थियो।
यस अगाडि प्रहरीले अधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको थियो। आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीबाट अधिक बल प्रयोग भएको र युद्धमा प्रयोग हुने एसएलआर र इन्सास जस्ता हतियार प्रयोग भएको त लेखेको छ नै, त्यसमा आयोजकमध्येको एक समूहले आन्दोलन हिंसात्मक बनाउने पहिल्यै तयारी गरेको समेत खुलाएको छ।
आयोगको प्रतिवेदनमा हिंसात्मक घटना गराउन आन्दोलनमा विद्यार्थीहरुलाई मानव ढाल बनाउने रणनीति बनेको र त्यही अनुसार एक समूहले फेसबुकमा नेपाल प्रहरीको नामको नक्कली अकाउन्ट खोलेर त्यसमार्फत विद्यालयको पोशाकमा आन्दोलनमा आए प्रहरीले बल प्रयोग गर्दैन भनेर भ्रम फैलाएको र पछि उनीहरूलाई नै मानव ढाल बनाएको प्रस्ट उल्लेख छ।
उनीहरूलाई मानव ढाल कसले बनायो त्यसबारे प्रतिवेदनमा किटान गरिएको छैन। तर आयोजकमध्येकै एक सुधन गुरुङ र अर्को टिओबी बाइकर्स समूहको गतिविधिमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिवेदनमा प्रस्ट हामी नेपाल संस्थाका सुधनको शंकास्पद नेतृत्व र निर्दोष विद्यार्थीहरूलाई राजनीतिक/स्वार्थ समूहले मानव ढाल र हतियार बनाएको प्रस्ट उल्लेख गरिएको छ जुन पक्ष यस अगाडिको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छैन।
मानव अधिकार आयोगको प्रतिवेदनले सरकारले जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष कार्कीलाई नै जेनजी आन्दोलनमा उत्तेजना फैलाउन संलग्न देखिएको भन्दै उल्टो उनको भूमिकाबारे अनुसन्धान गर्न सिफारिस समेत गरेको छ। सिफारिसमा नागरिक सरकार भनिने अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको समेत नाम छ।
शान्तिपूर्ण प्रदर्शनको अनुमति तर हिंसात्मक 'पूर्व-तयारी'
प्रतिवेदन अनुसार भदौ २३ को प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराउने मुख्य आयोजकहरूमध्ये सुदन गुरुङ अग्रपङ्क्तिमा थिए। उनले अंकित मल्ल, खेमराज साउद लगायतसँग मिलेर प्रशासनलाई प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने र ५ सय देखि ८ सय जनासम्म युवा विद्यार्थी मात्र उपस्थित हुने दाबी गरेका थिए।
तर, प्रदर्शन सुरु हुनु अगावै गुरुङले प्रदर्शनस्थल माइतीघर मण्डलामा प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयंसेवकहरू र ३ वटा एम्बुलेन्स तैनाथ गरिसकेका थिए। पाँच सय जनाको शान्तिपूर्ण प्रदर्शनका लागि सुरु हुनु अगावै एम्बुलेन्स र मेडिकल टेन्ट राख्नुलाई आयोगले प्रतिवेदनमा शंकाको दृष्टिले हेरेको छ। यसले प्रदर्शन हिंसात्मक हुन सक्छ र स्थिति बिग्रन सक्छ भन्ने पूर्व-जानकारी गुरुङलाई थियो भन्ने देखिन्छ।
त्यसमा आयोगको प्रतिवेदनमा अर्को नयाँ तथ्य समेत उल्लेख छ। २३ गते बिहान ९ बजेतिर जब आन्दोलनका वास्तविक जेनजी अगुवाहरू रक्षा बम र जस्मिन ओझाको समूह माइतीघर पुग्यो, त्यहाँ सुधनले सबै व्यवस्था एकलौटी रूपमा मिलाइसकेका थिए।
यो रहस्यमय व्यवस्थापन देखेपछि रक्षा र जस्मिनको समूहको गुरुङसँग ठूलो विवाद भयो। जेनजीका वास्तविक अगुवाहरूलाई गुरुङको यो भूमिकामाथि शंका लागेपछि उनीहरूले गुरुङलाई ‘यो प्रदर्शनबाट तत्काल फिर्ता हुन’ आग्रह गरेका थिए। तर गुरुङ त्यहाँबाट हटेनन्।
'मानव ढाल' को रूपमा विद्यार्थीहरूको प्रयोग र घुसपैठ
प्रतिवेदनले नागरिक अधिकारका लागि सडकमा उत्रिएका विद्यालय तथा कलेजका निर्दोष विद्यार्थीहरूको चरम दुरुपयोग भएको गम्भीर पक्षसमेत उजागर गरेको छ।
बिहान १०:३० बजेतिर सुरु भएको ३ हजार जतिको र्याली बबरमहल आइपुग्दा एकाएक २० देखि २५ हजारको विशाल भीडमा परिणत भयो। ठिक त्यही समयमा भीडमा टिओबी (तिब्बेतियन ओर्जिनल ब्लड) लेखिएको कालो टी-सर्ट लगाएका र शरीरमा सोही ट्याटु खोपेका १५/२० जना रहस्यमय बाइकरहरूको प्रवेश भएर भीडलाई उत्तेजित बनाउन थालेको प्रतिवेदनमा उल्लेख छ। यो पक्ष कार्की आयोगको प्रतिवेदनमा समेत उल्लेख छ।
उनीहरूले विद्यार्थीहरूलाई अगाडि सारेर 'मानव ढाल' बनाएको देखिन्छ। यसले प्रहरीले बल प्रयोग गर्दा अग्रपङ्क्तिमा रहेका निर्दोष विद्यार्थीहरू सुरुमा निशानामा परे र भिड थप उत्तेजित भयो। अराजकता फैलिन थाल्यो। उत्तेजना फैलाउनेहरू पछाडि बसेर ढुङ्गा मुढा गर्दा अगाडि रहेका विद्यार्थीहरूमाथि प्रहरीको बल प्रयोग भएको थियो।
ब्यारिकेड तोड्ने घातक नेतृत्व
ठिक मध्याह्न १२ बजेतिर, नयाँ बानेश्वरको एभरेस्ट होटल अगाडि आइपुगेपछि सुधन गुरुङले २५ हजारको विशाल भीडको कमान्ड लिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार निज गुरुङले भीडको नेतृत्व लिए लगत्तै प्रदर्शनकारीहरू अत्यधिक आक्रोशित बनेका थिए।
प्रतिवेदनका तथ्य अनुसार एभरेस्ट होटल अगाडि २५ हजारसम्म प्रदर्शनकारीहरू भेला भएपछि पहिला टिओबीले उनीहरूलाई उत्तेजित बनाउने काम गरे। जब भिड उत्तेजित भयो अनि त्यसको कमान्ड सुधनले गरे।
प्रतिवेदनमा सुधनकै नेतृत्वमा भीडले सुरक्षा ब्यारिकेड तोड्न खोजेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको उल्लेख छ। त्यसपछि नै मुठभेड र झडप सुरु भयो। विद्यार्थीहरूलाई अगाडि सारेर ब्यारिकेडतर्फ धकेलिएपछि स्थिति नियन्त्रणबाहिर गयो, जसले गर्दा १९ जना प्रदर्शनकारी (जसमा अधिकांश विद्यार्थी र युवा थिए) ले ज्यान गुमाए।
जब भीड नियन्त्रणबाहिर गयो, संसद् भवनमा ढुङ्गा मुढा भयो, एम्बुलेन्स र मानव अधिकार आयोगकै गाडीहरू समेत जलाइए। त्यो बेलामा आन्दोलनको नेतृत्व लिनेहरू एकाएक जिम्मेवारीबाट पन्छिए।
प्रतिवेदनले स्पष्ट रूपमा आन्दोलनमा गलत तत्त्व र टिओबी ग्रुपको घुसपैठ भएको र उनीहरूले विद्यार्थीहरूलाई अगाडि सारेर हिंसा भड्काएको विवरणहरू उल्लेख छ। तर, प्रदर्शनको अनुमति लिने र १२ बजेपछि भीडको कमान्ड सम्हाल्ने सुधन गुरुङले उक्त घुसपैठ रोक्न, विद्यार्थीहरूलाई जोगाउन वा भीडलाई संयमित बनाउन कुनै प्रयास गरेको कहिँकतै नदेखिएको प्रतिवेदनमा उल्लेख छ।
अनुसन्धानको सुई सुदन र विद्यार्थी प्रयोगकर्ताहरूमाथि
यही तथ्यहरूको आधारमा आयोगले आफ्नो निष्कर्षमा स्पष्ट रूपमा प्रदर्शन हिंसात्मक भई भएको धनजनको क्षतिको मुख्य जिम्मेवारी र जवाफदेहिता आयोजकहरूको भएको उल्लेख गरेको छ।
अनुमति लिने प्रक्रियादेखि नै शंकास्पद तयारी गर्ने, जेनजीका वास्तविक अगुवाहरूले 'ब्याक हुन' भन्दा पनि नमान्ने, र बानेश्वर आइपुगेपछि भीडलाई आक्रोशित बनाउँदै ब्यारिकेड तोड्ने नेतृत्व सुधन गुरुङले नै गरेको खुल्यो।
जेनजी आन्दोलनपछि प्रधानसेनापतिसँग वार्ता गर्न गएर एकाएक जेनजी अगुवाको रूपमा देखिएका सुधनपछि अन्तरिम सरकार गठन र सरकार गठनपछि प्रधानमन्त्री सुशीलाको ‘छोरा’ का रूपमा परिचित हुन थालेका थिए।
पछि उनको संस्थाको सम्बन्ध स्वतन्त्र तिब्बत अभियानसँग समेत देखियो। उनको भूमिका शंकास्पद देखिएपछि जेनजीका केही अगुवाले उनलाई आन्दोलनको हाइज्याकरको उपमा दिएका थिए।
तर मानव अधिकार आयोगको प्रतिवेदनमा उनको भूमिकालाई निकै शंकास्पद रूपमा प्रस्तुत गरिएको छ। निर्दोष विद्यार्थीहरूलाई कसको इसारामा मानव ढाल बनाइयो? टिओबी बाइकर ग्रुपसँग सुधन गुरुङ र 'हामी नेपाल' को सम्बन्ध के थियो? यी प्रश्नहरूको उत्तर खोज्न आयोगले प्रतिवेदनमा सुधन, टिओबी र विरोध प्रदर्शनका आयोजकको सम्बन्ध लगायतका पक्षको कानुनी अनुसन्धान गर्न सिफारिस गरेको छ।
सुधनको बदलिएको चरित्र
जेनजी आन्दोलनमा सहभागी गराउने रणनीति बनाउनेक्रममा सुधनले आफूहरू कोही पनि राजनीति नगर्ने र सांसद वा मन्त्री बन्न आन्दोलनको तयारी नगरेको दाबी गरेका थिए। तर जेनजी आन्दोलनमा सक्रिय रक्षा बम लगायतका जेनजी अगुवाहरू सरकारलाई खबरदारी गर्न बाहिरै बसे। तर सुधन हतारिएर रास्वपाबाट राजनीतिमा प्रवेश गरेर सांसद बने र मन्त्री पनि भए।
नयाँबानेश्वरमा प्रहरीको ब्यारिकेट तोडिएपछि सुधनले सानो समूहलाई सम्बोधन गर्दै ब्यारिकेट तोड्नु गल्ती भएको र त्यही कारण हिंसा फैलिएर गोली चल्दा प्रदर्शनकारीहरू मारिएको दाबी गरेका थिए। तर मानव अधिकार आयोगको प्रतिवेदनले प्रहरीको ब्यारिकेट तोड्ने नाइके नै उनलाई नै देखायो।
उनी मन्त्री भएपछि त उनको सम्पत्ति विवरणदेखि लिएर दीपक भट्ट लगायतका शंकास्पद समूहहरूसँग सम्बन्ध रहेको सार्वजनिक भयो। अहिले सरकारले उनको सम्पत्तिबारे छानबिन गर्न समिति नै गठन गरेको छ।
जेठ १४, २०८३ बिहीबार ०१:१६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।