ओलीदेखि सुधनसम्म जेनजी आन्दोलनका मानव अधिकार उलङ्घनकर्ता, रास्वपाका अधिकांश सांसद अनुसन्धानको घेरामा
काठमाडौँ : भदौ २३ र २४ को जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि आयोजक सुधन गुरुङसम्मले मानव अधिकार उलंघन गरेको निष्कर्ष निकालेको छ।
आयोगले बुधवार सार्वजनिक गरेको २९ पेजको संक्षेपमा भदौ २३ को जेनजी आन्दोलन हिंसात्मक बनाउनुमा सुधन गुरुङ र टीओबी लेखेका बाइकर्स समूहको भूमिका सबैभन्दा धेरै शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न सिफारिस गरेको छ।
प्रतिवेदनमा देशभरका कारागारबाट कैदी बन्दी बाहिरिनुमा नख्खु कारागारमा रहेका रवि लामिछाने निस्कनुलाई मुख्य कारण देखाउँदै यसबारे समेत अनुसन्धान गर्न भनेको छ।
प्रतिवेदनमा आन्दोलनको समर्थक र उक्साउन भूमिका खेल्नेहरूको सूचीमा अधिकांश रास्वपाका वर्तमान सांसदहरूको नाम छ। सामाजिक सञ्जालमा आन्दोलनमा समर्थन गरेर लेखेकै आधारमा अनुसन्धान गर्न सिफारिस गरेको आयोगको प्रतिवेदनमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाम छ। मेयरका रूपमा सामाजिक सञ्जालबाट जेनजी आन्दोलनको समर्थन गर्दै उत्तेजना फैलाउन सक्रिय देखिएका वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहको नाम भने कतै छैन।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उलङ्घनकर्ता ठहर गर्दै नयाँ कानुन बनाएर कार्वाहीको दारामा ल्याउन सिफारिस गरिएको छ।
भदौ २३ र २४ गतेको प्रदर्शन हिंसात्मक हुनबाट रोक्न भूमिका नदेखिएको भन्दै पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङमाथि अनुसन्धान गर्न भनेको छ।
आन्दोलनलाई उत्तेजित बनाउने भूमिका देखिएको भन्दै आयोगले गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनिश झा, ज्वाला सङ्ग्रौला, हेमराज थापा, विमल पन्तमाथि छानबिन गर्न सिफारिस गरेको छ।
यसैगरि, खेमराज साउद, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवारमाथि पनि छानबिन गर्न भनेको छ।
यसैगरि, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशीला कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाईँ, ऊर्जा बराल, जेरी ताम्राकारमाथि पनि छानबिन गर्न भनेको छ।
हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली सहितका अन्य व्यक्तिहरू २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षतिमा संलग्न छन् या छैनन् भन्नेबारे छानबिन गर्न सिफारिस गरेको छ।
नख्खु कारागारबाट रवि लामिछाने निकालेको घटनामा रास्वपा सांसद मनिष झा र हरि ढकाल पनि अनुसन्धानको दायरामा तानिएका छन्।
जेठ १३, २०८३ बुधबार १७:०२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।