पत्रकार किशोर श्रेष्ठमाथि प्रहरी निगरानी; पत्रकार महासंघको आपत्ति, विमति भए काउन्सिल जान आग्रह
काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठमाथि भएको प्रहरी निगरानी, धरपकडको प्रयास र धम्कीको निन्दा गरेको छ। महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्ताधारी दलका नेताका बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधानसम्पादक श्रेष्ठले यस्तो दबाब झेल्नुपरेको महासंघले उल्लेख गरेको छ। समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार भएको महासंघले भनेको छ।
प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूमाथि यस्ता गतिविधि भएको जानकारी महासंघलाई गराएका छन्। उनका अनुसार आफूलाई धरपकड गर्ने, धम्क्याउने र समाचारको स्रोत खोल्न दबाब दिने काम भइरहेको छ।
महासंघले यो प्रेस विरोधी व्यवहार सच्याउन सम्बद्ध पक्षसँग माग गरेको छ। समाचारप्रति विमति भएमा प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न महासंघले आग्रह गरेको छ। यसका साथै, पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न महासंघले जोडदार माग गरेको छ।

जेठ ११, २०८३ सोमबार २२:२२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।