यौन व्यवसायमा संलग्न भएको आरोपमा पक्राउ नौ जना विदेशी महिलालाई १० हजार जरिवाना गराएर डिपोर्ट
काठमाडौँ : काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेल क्षेत्रमा हिँडिरहेका बटुवालाई रोकेर मोलमोलाई गरेको आरोपमा पक्राउ परेका केही विदेशी युवतीको आधारमा प्रहरीले उनीहरूले संगठित रूपमा अवैध यौन व्यवसाय सञ्चालन गरेको निष्कर्ष निकालेको छ।
जेठ ७ मा प्रहरी वृत्त लैनचौरको प्रहरी टोलीले ठमेल क्षेत्रबाट नौ जना विदेशी महिलालाई पक्राउ गरेको थियो। उनीहरूमाथि रात्रिकालीन समयमा बाटो छेकेर स्वदेशी तथा विदेशी पर्यटकहरूसँग मोलमोलाइ गरेको आरोप लगाइएको थियो।
प्रहरीले भियतनाम, बङ्गलादेश र युगान्डाका महिलालाई नियन्त्रणमा लिएको थियो। उनीहरू तीन महिनाको भिजिट भिसामा नेपाल आएर ठमेलमा समूह नै बनाएर यौन व्यवसायमा संलग्न रहेको प्रहरीको दाबी छ। प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारको आरोपमा अनुसन्धान सुरु गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १०-१० हजार जरिवाना गरियो र सबैलाई एक वर्षसम्म नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएर डिपोर्ट गरियो।
सोमबारै प्रहरीले ठमेल क्षेत्रमा अप्रेशन चलाएर थप पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। उनीहरूमाथि पनि प्रहरीले भिजिट भिसामा नेपाल आएर यौनधन्दा चलाएको आरोप लगाएको छ। उनीहरु युगान्डा र केन्याका नागरिक रहेको प्रहरीले जानकारी दिएको छ।
जेठ ११, २०८३ सोमबार १९:४४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।