सदस्यता अद्यावधिक र विवाद समाधानका लागि कांग्रेसले खटायो प्रतिनिधि
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक तथा नवीकरण प्रक्रियालाई तीव्र बनाएको छ।
पार्टी सभापति गगन थापाको उपस्थिति र महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सातै प्रदेश र १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
बैठकले आगामी जेठ २१ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न गर्ने समयसीमा तोकेको छ।
सदस्यता अद्यावधिकलाई प्रभावकारी बनाउन कोशीमा डा. डिला संग्रौला, मधेशमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिममा उदय शमशेर राणालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, अन्य दलबाट कांग्रेसमा समायोजन भएका कार्यकर्ताहरूको सदस्यता व्यवस्थापन र विवाद समाधानका लागि १३ जिल्लामा विशेष प्रतिनिधि खटाइएको छ। बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौंमा खटिएका प्रतिनिधिहरूले स्थानीय तहमा देखिएका समस्या समाधान गर्नेछन्।
बैठकले १४औँ महाधिवेशनमा आधिकारिकता पाएका क्रियाशील सदस्यहरूलाई पुरानै सदस्यता मानी नवीकरण प्रक्रियामा सामेल गर्ने र विदेशस्थित जनसम्पर्क समितिहरूको सदस्यता विवाद अध्ययन गरी अधिवेशनको वातावरण तय गर्ने निर्णय समेत गरेको छ। समितिको सचिवमा केन्द्रीय कार्यालयका सह-सचिव प्रेम विश्वकर्मालाई नियुक्त गरिएको छ।
जेठ ११, २०८३ सोमबार १६:५४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।