रामेछापको उमाकुण्डमा मध्यमार्गी सडकको स्तरोन्नति तीव्र, ७५ प्रतिशत काम सम्पन्न

रामेछापको उमाकुण्डमा मध्यमार्गी सडकको स्तरोन्नति तीव्र, ७५ प्रतिशत काम सम्पन्न

रामेछाप : रामेछापको दुर्गम हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिकाले आफ्नो ७ वटै वडालाई केन्द्रसँग जोड्ने 'मध्यमार्गी सडक' लाई गौरवको आयोजनाको रूपमा अघि बढाएको छ।

कुल ७५ किलोमिटर लामो यस सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै अहिले स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ।

गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन्। एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ।

गाउँपालिकाको केन्द्र रहेको वडाबाट नै सडकलाई स्तरोन्नति गर्दै लैजाने योजना अनुसार गाउँपालिको केन्द्रबाट वडा नं १ तथा वडा नं ७ दुवैतर्फ स्तरोन्नतिको काम भइरहेको छ।

निर्माण कम्पनीले ठेक्का कबोल गरेका कामको ७५ प्रतिशत भन्दा बढी काम गरिसकेको र बाँकी काम पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने उनले बताए। 

‘सबै वडामा अत्यावश्यक ठाउँमा सुधारको काम भइरहेको छ, धेरै काम भने वडा नं ४, ५ र ३ मा भइरहेको छ’, कार्कीले भने।

सडक गाउँपालिकाको मेरुदण्डको रूपमा रहेकाले गौरवको योजनाको रूपमा राखिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए। सडक नहुने हो भने सर्वसाधारणलाई गाउँपालिका आउनै दिनभरि लाग्ने अवस्था रहेकाले पनि सडकलाई प्राथमिकतामा राखिएको सुनुवारले बताए।

निर्माण भएको सडकको स्थलगत अनुगमन र नापजाँचको काम भइरहेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताइन्।

वडा नं १ र २ मा भएको कामको स्थलगत अनुगमन तथा नाप जाँचको काम सम्पन्न गरिएको उनले जानकारी दिइन्।

जेठ ११, २०८३ सोमबार १२:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।