अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन रुसतर्फ उडे माधव नेपाल
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार रुसतर्फ उडेका छन्। रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेता नेपाल पार्टी प्रवक्ता प्रकाश ज्वालासहित त्यसतर्फ लागेका हुन्।
रुसमा यही जेठ ११ गते आयोजना हुने सम्मेलनमा पूर्व प्रधानमन्त्री नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको पार्टी नेता ताजमोहम्मद मियाँले जानकारी दिएका छन्।
भेटघाटका क्रममा नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल हुने बताइएको छ। सहसंयोजक नेपाल र प्रवक्ता ज्वालालाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सम्मेलनमा सहभागी भई उनी यही जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
जेठ १०, २०८३ आइतबार ०९:००:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।