कान्तिलोकपथमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
बागमती : हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको मकवानपुरगढी-२, सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय स्कुटर चालक दोर्जेरत्न योञ्जन रहेका छन्।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए।
स्कुटरलाई ठक्कर दिने बस र त्यसका चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ का ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
जेठ ९, २०८३ शनिबार १७:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।