रास्वपाको बारा बैठकमा विवाद, आफ्नै कार्यकर्ताको घेराबन्दीमा परे सांसद

रास्वपाको बारा बैठकमा विवाद, आफ्नै कार्यकर्ताको घेराबन्दीमा परे सांसद

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला स्तरीय विस्तारित बैठकमा शनिबार आन्तरिक विवाद चर्किएपछि चार जना सांसदलाई प्रहरीले सुरक्षा दिएर बैठकस्थलबाट बाहिर निकालेको छ।

कलैयास्थित करणराज होटलमा आयोजित बैठकमा शनिबार आन्तरिक विवादका कारण तनाव उत्पन्न भएको थियो। बैठकमा सहभागी हुन रास्वपाका नेता एवं सांसद रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह पुगेका थिए। 

केही दिनअघि पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज भएपछि चर्किएको विवादले बैठकका क्रममा उग्र रूप लियो। विवाद बढेपछि आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठकस्थलबाट धक्का दिएर बाहिर निकाल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

स्वर्णकार पक्षधर कार्यकर्ताहरूले पार्टीको नेतृत्व र सांसदहरूले मनोमानी ढंगले आफू निकटका व्यक्तिहरूलाई मात्र समेटेर जिल्ला समिति बनाउन खोजेको भनेर नाराबाजी गरे। तर, बारा १ का सांसद धिमालले भने केही व्यक्तिहरूले कार्यक्रम बिथोल्ने प्रयास गरेता पनि पार्टीको निर्धारित बैठक सुरु भएको दाबी गरे।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले सांसदहरूलाई सुरक्षित रूपमा स्थानतर्फ लगेको थियो। यता, पार्टीबाट निष्कासित पूर्व सभापति स्वर्णकारले भने पुराना कार्यकर्तालाई उपेक्षा गरी समिति पुनर्गठन गर्न खोजिएकाले प्रतिकार भएको बताएका छन्। 

जेठ ९, २०८३ शनिबार १५:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।