कर्णाली नदी किनारमा खेल्ने क्रममा बगेका दुई बालबालिका अझै बेपत्ता, खोजी कार्य जारी

कर्णाली नदी किनारमा खेल्ने क्रममा बगेका दुई बालबालिका अझै बेपत्ता, खोजी कार्य जारी

मुगु : मुगुको पूर्वी भेगमा पर्ने मुगम कार्मारोङ गाउँपालिका २, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन्।

शुक्रबार बेलुकी करिब ६:५० बजे नदी किनारमा खेलिरहेका बेला उनीहरूलाई नदीले बगाएको हो। बेपत्ता बालबालिकाको खोजी कार्य भइरहेको छ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरूमा स्थानीय पेमा लामाकी तीन वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका ३ वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेका छन्।

घटनाबारे शुक्रबार साँझ ७:३० बजे यार्सा संकलन सुरक्षा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रावललाई जानकारी प्राप्त भएपछि निरीक्षक रावलको कमाण्डमा १० जनाको टोली तथा स्थानीयवासी मिलेर खोजीमा जुटेका थिए।

खोजीका लागि अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट प्रहरी हवल्दारको कमाण्डमा थप पाँच जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थल प्रहरी पोस्टबाट करिब २ घण्टा ३० मिनेटको पैदल दूरीमा पर्दछ।

हाल बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जेठ ९, २०८३ शनिबार १३:०७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।