डोल्पाको छार्का ताङसोङमा नेपाल टेलिकमको फोरजी सेवा सुरू, ७५० स्थानीय तहमा पुग्यो पहुँच
काठमाडौं : नेपाल टेलिकमले डोल्पा जिल्लाको अति दुर्गम छार्का ताङसोङ गाउँपालिकामा फोरजी (४जी) सेवा सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाको केन्द्र कागकोटमा गत जेठ ८ गतेदेखि फोरजी सेवा सुरु भएसँगै नेपाल टेलिकमको ४जी सेवा पुगेका स्थानीय तहहरूको संख्या ७५० पुगेको छ।
टेलिकमका अनुसार समुद्री सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत यो सेवा सञ्चालनमा ल्याइएको हो।
यो माथिल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको पहिलो फोरजी साइट हो।
यससँगै अब डोल्पा जिल्लाका डोल्पो बुद्ध र शे फोक्सुण्डो गाउँपालिका तथा मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकामा मात्र फोरजी सेवा पुग्न बाँकी रहेको छ।
ती बाँकी रहेका तीन स्थानीय निकायहरूमा पनि निकट भविष्यमै सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइने टेलिकमले जनाएको छ।
जेठ ९, २०८३ शनिबार १२:५६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।