पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत् आयोजनामा क्षति

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत् आयोजनामा क्षति

पाँचथर : गए राति अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ।

याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरू, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ।

हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए। बाढी पहिरोले याङवरक-१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति भएको छ।

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम-चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। याङवरक-३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम-चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरू भएको छ।

सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको कर्णले जानकारी दिए।

यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ।

हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ।

गए राति आएको बाढीपहिरोले याङवरक-३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए।

जेठ ९, २०८३ शनिबार १०:४३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।