मन्त्रीको आश्वासन पुरा नहुँदा बुटवल-गोरुसिङ्गे सडकको पिच गर्न अलकत्रा आएन, बेस तयार पारेर कुर्दै निर्माण कम्पनी

मन्त्रीको आश्वासन पुरा नहुँदा बुटवल-गोरुसिङ्गे सडकको पिच गर्न अलकत्रा आएन, बेस तयार पारेर कुर्दै निर्माण कम्पनी

बुटवल : कालोपत्रे (पिच) गर्ने मुख्य कच्चा पदार्थ ‘अलकत्रा’ (बिटुमिन) अभाव हुँदा पश्चिम नेपालकै लाइफलाइन मानिने बुटवल-गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम प्रभावित भएको छ। सडक चौडा पार्ने र पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगे पनि ५० किलोमिटर लामो यो रणनीतिक सडक आयोजनाको निर्माणको काम रोकिएको हो।

आयोजना कार्यालयका अनुसार रूपन्देही र कपिलवस्तु दुवै खण्डमा गरी कुल ४ किलोमिटर सडक तत्काल कालोपत्रे गर्न मिल्ने गरी ‘बेस’ तयार पारिएको छ। बुटवल खण्डको करिब १ किलोमिटर र कपिलवस्तु खण्डको ३ किलोमिटर क्षेत्रमा अलकत्रा बिछ्याउन मेसिनहरू तम्तयार छन्। तर, मुख्य सामग्रीकै अभाव भएपछि काम अघि बढ्न सकेको छैन।

नेपालमा सडक निर्माणका लागि प्रयोग हुने अधिकांश बिटुमिन भारतबाट आयात हुने गर्छ। पछिल्ला महिनामा सीमित आपूर्ति, ढुवानीमा भएको ढिलाइ र मूल्यवृद्धिका कारण देशका विभिन्न सडक आयोजना प्रभावित भएको निर्माण व्यवसायीहरूको भनाइ छ।

निर्माण कम्पनीले पटक-पटक सरकार र सरोकारवाला निकायलाई अलकत्रा आयात र आपूर्ति सहज बनाइदिन आग्रह गरे पनि हालसम्म सुनुवाइ हुन सकेको छैन। केही दिनअघि मात्रै पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सडकको स्थलगत निरीक्षण गरेका थिए।

सो क्रममा निर्माण व्यवसायीहरूले अलकत्रा, माटो र ढुङ्गा-गिट्टीको अभावकै कारण काम ठप्प भएको गुनासो राखेपछि मन्त्री लम्सालले मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने आश्वासन दिएका थिए। तर अलकत्रा नहुँदा बेस तयार भएको ४ किलोमिटर सडक पिच हुन सकेको छैन।

 माटो र नदीजन्य सामग्रीको अभाव
आयोजनाको अर्को जटिल पक्ष जग हाल्न आवश्यक माटो र नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) को अभाव समेत देखियो। वर्षायाम सुरु हुन अब धेरै समय बाँकी छैन। बर्खा लाग्नुअघि सडकको सतह मिलाउन मात्रै करिब ३ लाख घनमिटर माटो आवश्यक पर्छ। तर, स्थानीय तहहरूबीच समन्वयको अभाव र वातावरणीय नियमका कारण निर्माण कम्पनीले आवश्यक माटो उत्खनन् गर्न पाएका छैनन्।

आयोजना क्षेत्रमा पर्ने स्थानीय पालिकाहरूले माटो र नदीजन्य पदार्थ निकाल्न असहयोग गरेको आरोप निर्माण पक्षको छ। तर, आयोजनाको केन्द्र भागमा पर्ने सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा यो कुरा स्वीकार गर्दैनन्।

‘विकासविरोधी बन्ने हाम्रो चाहना होइन। निर्माण कम्पनी आवश्यक कानुनी र वातावरणीय प्रक्रिया पूरा गरेर आएको खण्डमा माटो तथा नदीजन्य पदार्थ उत्खननका लागि सहजीकरण गर्न नगरपालिका सधैँ तयार छ’, उनले भने।

आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेका अनुसार अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति करिब २५ प्रतिशत मात्र छ। सम्झौता अवधिभित्रै काम सम्पन्न गर्नुपर्ने दबाबमा रहेको आयोजनाको निर्माण गति भने सुस्त छ। 

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित यो आयोजनाको कुल बजेट १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ हो।  यति ठूलो राशिको ठेक्का चिनियाँ कम्पनी ‘सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन’ र नेपालको ‘आशिष निर्माण सेवा जेभी’ले संयुक्त रूपमा लिएका हुन्।

आयोजनालाई व्यवस्थापकीय सहजताका लागि २५-२५ किलोमिटरका दुईवटा खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको छ। चार लेन मापदण्डअनुसार विस्तार गर्ने लक्ष्य राखिएको यस आयोजनाअन्तर्गत सडकको चौडाइ वृद्धि, सर्भिस लेन, नाला, पुल तथा आधुनिक ट्राफिक संरचनाहरू निर्माण गरिने योजना छ।

वन क्षेत्र नै सबैभन्दा चुनौतीपूर्ण खण्ड
बुटवल-गोरुसिङ्गे सडकको करिब १५ किलोमिटर भाग घना वन क्षेत्रभित्र पर्छ। यस क्षेत्रमा वन्यजन्तुको आवागमन प्रभावित नहोस् भनेर १९ स्थानमा अन्डरपास तथा वन्यजन्तु क्रसिङ संरचना निर्माणको काम भइरहेको छ। सडक विस्तार हुने क्षेत्र आसपासमा चितवन-पर्सा र पश्चिम तराईका वन प्रणालीसँग जोडिएका जैविक मार्गहरू रहेका कारण वन्यजन्तुको आवागमनलाई असर नपर्ने गरी यसको डिजाइन गरिएको छ।

यस सडक आसपासका वन क्षेत्रमा चित्तल, जरायो, बँदेल, स्याल, दुम्सी र मयूरलगायतका वन्यजन्तु देखिने गरेका छन्। रातिको समयमा ती जनावर सडक पार गर्ने क्रममा दुर्घटनामा पर्ने जोखिम उच्च रहने गरेको छ।

यसअघि नारायणगढ-बुटवल सडकखण्डमा पनि वन्यजन्तु सवारी दुर्घटनामा परेका घटनाहरू सार्वजनिक भएपछि बुटवल-गोरुसिङ्गे आयोजनामा सुरुदेखि नै सुरक्षा संरचनामा विशेष जोड दिइएको थियो।

आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले वन क्षेत्र नजिक साना तथा मध्यम आकारका अन्डरपासहरू निर्माण गरिने जानकारी दिइन्। यी संरचनाले वन्यजन्तुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज बनाउने विश्वास गरिएको छ।

५० किलोमिटर सडकखण्डमा १८ वटा अन्डरपास, ६ वटा फ्लाईओभर, १२ वटा पैदल यात्रु अन्डरपास तथा ११ वटा ओभरहेड ब्रिज निर्माण भइरहेको आयोजनाले जनाएको छ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार सडकमुनिबाट जनावर आवतजावत गर्न सक्ने गरी चौडा कल्भर्ट र अन्डरपास डिजाइन गरिएका छन्। यसले पानी निकाससँगै वन्यजन्तुको आवतजावतलाई समेत सहज बनाउनेछ।

त्यस्तै, आयोजनाले सडकका व्यस्त चोक र सहरी क्षेत्रलाई लक्षित गरेर ओभरपास निर्माणको अवधारणा पनि अघि सारेको छ। विशेष गरी बुटवल प्रवेश क्षेत्र, सैनामैना आसपास तथा बढी सवारी चाप हुने स्थानमा सवारी आवागमन व्यवस्थित गर्न ओभरपास र यू-टर्न संरचना बनाइने प्रमुख न्यौपानेले बताइन्।

जेठ ७, २०८३ बिहीबार १४:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।