काँग्रेस विभाजनको सँघारमा, नेतृत्व नै पार्टी फुटाउन उद्दत: पूर्णबहादुर खड्का
सुर्खेत : नेपाली काँग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन्।
सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै नेता खड्काले वर्तमान नेतृत्वकै कमजोरीका कारण पार्टीभित्र संकट गहिरिएको आरोप लगाए।
खड्काले विशेष महाधिवेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको समेत बताए।
"इतिहासमै नेपाली काँग्रेस पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ" उनले भने, "चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन।"
नेतृत्वले पार्टी एकताको पहल गर्नुको साटो विभाजन विभाजन ल्याउन खोजेको टिप्पणी गर्दै खड्काले 'विशेष महाधिवेशन' का नाममा पार्टी कब्जा गर्ने नियत देखिएको समेत बताए।
"नेतृत्व एकताको भन्दापनि टिम विभाजनतर्फ लागेको देखियो" उनले भने, "यसले पार्टी एकतालाई बल पुर्याउँदैन।"
क्रियाशील सदस्यता अद्यावधिक गर्ने बहानामा पुराना र निष्ठावान कार्यकर्तालाई पाखा लगाउन खोजिएको उनको आरोप छ। डिजिटलाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए।
पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने बताए।
आफूले राजनीतिमा पाउनुपर्ने पद र अवसरहरू पाइसकेकाले अबको आफ्नो लडाइँ व्यक्तिगत स्वार्थका लागि नभई आगामी पुस्ताको राजनीतिक भविष्य सुरक्षित गर्नका लागि भएको उनले स्पष्ट पारे।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ।
जेठ २, २०८३ शनिबार १६:१९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।