विदेश जान अनुमति लिनुपर्ने सर्तमा एनआइएमबीका सिइओ पाण्डेलाई छाड्न सर्वोच्चको आदेश

विदेश जान अनुमति लिनुपर्ने सर्तमा एनआइएमबीका सिइओ पाण्डेलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं : गैर कानुनी रुपमा स्मार्टसेलको सम्पत्ति लिलाम गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न  सर्वोच्च अदालतले आदेश दिएको छ। 

शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा पाण्डेलाई रिहा गर्न आदेश दिएको हो। 

अदालतले उनलाई प्रहरी हिरासतबाट मुक्त गर्न आदेश दिए पनि विदेश जान अदालतबाट अनुमति लिनुपर्ने सर्त राखेको छ। अदालतले वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेका बखत उपस्थित हुने सर्तमा थुनामुक्त गर्न आदेश दिइएको हो।

पाण्डे वैशाख २९ गते पक्राउ परेका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। 

जेठ १, २०८३ शुक्रबार २०:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।