सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय विशेष भेला, गगन, विश्वप्रकाश र प्रदीपले सम्बोधन गर्ने
सुर्खेत : नेपाली कांग्रेसले आज सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गर्दैछ।
विशेष महाधिवेशन सम्पन्न भएपश्चात् प्रतिनिधिसभा निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न कांग्रेसले यो भेलाको आयोजना गरेको हो।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुन लागेको यस भेलालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराईले भेलाको तयारी पूरा भएको बताएका छन्। उनले भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताए।
उनका अनुसार भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुनेछ।
बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबिच साझा धारणा निर्माणमा पनि विशेष जोड दिइने बताइएको छ।
त्यसैगरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्य योजना तय गरिने बताइएको छ।
कांग्रेसले सातै प्रदेशमा संगठन सुदृढीकरणका लागि यस्ता भेला आयोजना गरिरहेको छ। यसअघि वैशाख २६ र २७ गते सुदूरपश्चिमको धनगढीमा भेला सम्पन्न भइसकेको छ।
वैशाख २८, २०८३ सोमबार १०:५२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।