लिग-२ क्रिकेटका लागि राष्ट्रिय टिमको घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आगामी सातादेखि सुरु हुने त्रिकोणात्मक शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
यही मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने यस शृङ्खलामा नेपालले अमेरिका र स्कटल्याण्डको सामना गर्नेछ।
टोलीमा ब्याटर इशान पाण्डे पनि परेका छन्। प्रधानमन्त्री कप र नेपाल ‘ए’ टोलीबाट स्कटल्याण्ड तथा अमेरिकाविरुद्धको अभ्यास खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
लिग-२ को यसअघिको ओमान र यूएई सम्मिलित शृङ्खलामा नेपालले चार खेलमध्ये तीन खेलमा जित निकालेको थियो। घरेलु मैदानमा हुने आगामी शृङ्खलालाई विश्वकप छनोटको यात्रामा महत्त्वपूर्ण मानिएको छ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।
वैशाख २६, २०८३ शनिबार २१:१०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।