डा. सन्तोषको उपचार अनुभव : दाँत जँचाउन आएका बालकको मनोवैज्ञानिक त्रास हटाएपछि फेरियो जीवन

डा. सन्तोषको उपचार अनुभव : दाँत जँचाउन आएका बालकको मनोवैज्ञानिक त्रास हटाएपछि फेरियो जीवन

काठमाडौं : डा. सन्तोष धरेल बाल दन्त रोग विशेषज्ञ हुन्। उनले कयौं बालबालिकाको दाँतको सफल उपचार गरी निको पारेका छन्। उनी बालबालिकाको दाँतको उपचारमा मात्र केन्द्रित नभई बाल मनोविज्ञानप्रति समेत निकै संवेदनशील छन्।

त्यसैले, उनी सबैभन्दा पहिले बालबालिकासँग आत्मीयता कायम गर्छन् र त्यसपछि मात्र उपचार प्रक्रिया सुरु गर्छन्। उनै डा. सन्तोषले आफ्नो चिकित्सकीय पेसाका क्रममा सँगालेका अनुभवहरू 'उकेरा'सँग यसरी साटेका छन्।

दाँतको उपचारअघि मन उपचार गर्नुपरेको त्यो घटना
नुवाकोटस्थित त्रिशूली अस्पतालमा कार्यरत रहँदा एक बालकको दाँतको उपचार गरेको घटना बाल दन्त रोग विशेषज्ञ डा. सन्तोषको मानसपटलमा अझै ताजै छ।

घटना केही महिनाअघिको हो। करिब पाँच वर्षका ती बालकलाई दाँतको उपचारका लागि अस्पताल ल्याइएको थियो। उनी चिकित्सक, नर्स वा स्वास्थ्यकर्मी देख्ने बित्तिकै असाध्यै त्रसित हुन्थे। डा. सन्तोषले बालकको दाँत परीक्षण गर्ने प्रयास गरे, तर चिकित्सक नजिक आउनासाथ बालक निकै डराए र रोइकराई गरे। उनी डा. सन्तोषको नजिक आउन मानेनन्।

सामान्यतया अपरिचित व्यक्तिसँग डराउनु बालबालिकाको स्वभाव नै हुन्छ। तर, ती बालकको डर अस्वाभाविक थियो। उनको व्यवहार देखेपछि डा. सन्तोषले बालकको मस्तिष्कमा गहिरो मनोवैज्ञानिक त्रास रहेको महसुस गरे।

बोलाउँदा नबोल्ने र मानिस देख्दा लुक्ने जस्ता समस्या देखेपछि डा. सन्तोषले अभिभावकसँग परामर्श गरे। सोधखोजका क्रममा 'राम्रो पढ्नुपर्छ' भन्दै अभिभावकले उनलाई बेलाबेला तर्साउने गरेको खुल्यो। अझ, राम्रो शिक्षाको आशामा घरनजिकको विद्यालय छाडेर उनलाई टाढाको विद्यालयमा भर्ना गरिएको रहेछ।

पाँच वर्षका ती कलिला बालक विद्यालय आउजाउ गर्दा नै निकै थकित हुन्थे, जसका कारण उनले पढाइमा उचित ध्यान दिन सकेका थिएनन्। कक्षामा कमजोर देखिएपछि साथीभाइबाट समेत उनले तिरस्कार खेप्नुपरेको रहेछ।

यी सबै कारणले दाँतको उपचारका लागि आएका ती बालकको कलिलो मस्तिष्कमा गहिरो चोट पुगेको थियो। फलस्वरूप डराउने, घुलमिल हुन नचाहने र आत्मविश्वासको कमी जस्ता मानसिक समस्या देखा परे। त्यसमाथि घरमा हुने बाबुआमाको झगडाले उनको मानसपटलमा थप नकारात्मक असर पारेको पाइयो।

डा. सन्तोषले यी सबै वास्तविकता बुझे। बालकलाई जबरजस्ती समातेर दाँतको उपचार गर्न सम्भव भए पनि उनले त्यसलाई उचित ठानेनन्। त्यसैले, उपचारअघि उनले अभिभावकलाई विस्तृत परामर्श दिए।

उनले दाँतको उपचारसँगै बालकको मनोवैज्ञानिक अवस्था सुधार्न जोड दिए। उनले टाढाको विद्यालयबाट छुटाएर घर पायकको विद्यालयमा भर्ना गर्न सुझाव दिए। डाक्टरको सल्लाहअनुसार अभिभावकले उनलाई घरनजिकको विद्यालयमा सारे र आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याए। त्यसपछि बिस्तारै बालकको पढाइमा सुधार आयो। उपचारपछि दाँतको समस्या त निको भयो नै, साथै बाल मनोविज्ञानमा परेको नकारात्मक प्रभाव समेत हट्यो।

मनोवैज्ञानिक परामर्शसँगै दाँतको उपचार पनि अघि बढाइयो। किराले खाएका दाँतको जराको उपचार (आरसीटी), दाँत निकाल्ने र क्याप लगाउने जस्ता प्रक्रिया सम्पन्न गरियो। पटक-पटकको फलोअपका क्रममा ती बालक डा. सन्तोषसँग निकै नजिक भए र परिवारकै सदस्यजस्तो व्यवहार गर्न थालेको उनी सम्झिन्छन्।

यसरी दाँतको समस्याका साथै मानसिक तनावमा रहेका ती बालक शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ भएको अनुभव डा. सन्तोष सुनाउँछन्।

छोराको दाँतको उपचार र सही परामर्श पाएका ती अभिभावक अहिले पनि काठमाडौं आउँदा कृतज्ञ हुँदै उनलाई भेट्न पुग्छन्। त्यसैले, बालबालिकाको मुख तथा दाँतको उपचारमा औषधिसँगै मनोवैज्ञानिक पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको मान्यता छ।

वयस्कको तुलनामा बालबालिकाको उपचार गर्दा निकै संवेदनशील हुनुपर्ने डा. सन्तोष बताउँछन्। बाल स्वास्थ्य र बाल मस्तिष्कलाई मध्यनजर गरेर उपचार प्रक्रिया अपनाउनुपर्ने उनको अनुभव छ।

साना बालबालिकाको उपचार गर्दा दन्त चिकित्सकले बोली र शारीरिक हाउभाउका माध्यमबाट उनीहरूलाई आत्मीय बनाउन सक्नुपर्छ। उपचारका क्रममा बालबालिकाले भोग्ने पीडालाई चिकित्सकले समानुभूति गर्न सक्नुपर्ने उनी बताउँछन्। उनले जहिले पनि बालबालिकाले बुझ्ने सरल भाषा र हाउभाउ प्रयोग गर्ने गरेको चिकित्सकीय अनुभव सुनाए।

शाब्दिक र गैर-शाब्दिक दुवै प्रकारका सञ्चार कौशलमार्फत बालबालिकालाई परिवारको सदस्यजस्तै महसुस गराएपछि मात्र उपचार सहज हुने भएकाले आफूले यस्ता विषयमा विशेष ध्यान दिने गरेको उनले बताए। बाल मनोविज्ञानलाई बेवास्ता गरी गरिने शारीरिक उपचारले उनीहरूमा दीर्घकालीन नकारात्मक असर पार्ने जोखिमप्रति उनी सचेत छन्।

बालबालिकालाई तर्साएर वा जबरजस्ती रुवाउँदै उपचार गर्दा उनीहरूमा उत्पन्न हुने त्रासले भविष्यमा समेत मनोवैज्ञानिक समस्या निम्त्याउन सक्छ। एक्कासि अपरिचित चिकित्सक र उपचारमा प्रयोग हुने औजारहरू देख्दा बालबालिका डराउनु स्वाभाविक हो। त्यसैले, चिकित्सकले पहिले उनीहरूसँग घुलमिल भएर र औजारहरूसँग परिचित गराएर विश्वास जित्न आवश्यक हुन्छ। बाल दन्त चिकित्सामा संवेदनशीलता अनिवार्य रहेको उनको अनुभव छ।

बालबालिका शारीरिक वृद्धिका साथै मानसिक र भावनात्मक विकासका दृष्टिले वयस्कभन्दा फरक हुन्छन्। उनीहरू निष्कलङ्क हुने भएकाले पहिलो भेटमै कसैलाई विश्वास गरिहाल्छन्। त्यसैले, पहिलो पटकको व्यवहारले उनीहरूको मस्तिष्कमा पार्ने छाप नै भविष्यको सोच र दृष्टिकोण निर्माण गर्ने आधार बन्छ। पहिलो परीक्षणकै क्रममा बालबालिकाको मन जित्ने सुनौलो अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनी सचेत छन्।

तीन वर्षकी छोरीको उपचारपछि बुबाले ल्याएको सुन्तलाको कोसेली
अर्की एक बालिकाको उपचार गरेको प्रसङ्ग पनि डा. सन्तोष कहिल्यै भुल्दैनन्। यो घटना उनी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल दन्तरोग विषयमा एमडीएस अध्ययन गरिरहेको बेलाको थियो। 

डा. सन्तोष प्रतिष्ठानको अस्पतालमा ड्युटीमै रहेका बेला धनकुटाकी करिब तीन वर्षकी एक बालिकालाई उपचारका लागि ल्याइयो। समय दसैँको थियो। ती बालिकालाई कुकुरले मुखमा टोकेको रहेछ र चोट निकै गहिरो थियो।

सुरुमा ती बालिकालाई मनोवैज्ञानिक रूपमा सहज बनाइयो र त्यसपछि मात्र उपचार प्रक्रिया अघि बढाइयो। डा. सन्तोष र वरिष्ठ चिकित्सकहरूको टोलीले बालिकाको मुखको उपचार गर्यो। उपचारकै क्रममा बालिकाका बुबाआमासँग उनको राम्रो चिनजान भयो। उपचारपछि बालिका पूर्ण रूपमा निको भइन् र अस्पतालबाट डिस्चार्ज दिइयो।

त्यसपछि पनि ती बालिकाका बुबा जब-जब धरान आउँथे, डा. सन्तोषका लागि सुन्तलालगायतका फलफूल कोसेली स्वरूप ल्याइदिन्थे। कलिली छोरीको उपचार गरी ठिक बनाइदिएकोमा कृतज्ञ हुँदै उनले सप्रेम ल्याएको त्यो कोसेली आफूले खुसीसाथ स्वीकार गर्ने गरेको डा. सन्तोष सम्झन्छन्।

मुटुको शल्यक्रियाअघि दाँतको उपचार : एक चुनौतीपूर्ण प्रसङ्ग
कान्ति बाल अस्पतालमा एक बालकको उपचार गर्दाको प्रसङ्ग पनि डा. सन्तोषका लागि अविस्मरणीय छ। यो घटना करिब सात महिनाअघिको हो।

मुटुको समस्या भएका करिब चार वर्षका एक बालकलाई उपचारका लागि गङ्गालाल अस्पतालमा पुर्याइएको थियो। मुटु रोगसँग जुधिरहेका ती कलिला बालकको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। तर, बालकको समस्या मुटुमा मात्र सीमित थिएन; उनको मुख र दाँतमा पनि गम्भीर समस्या थियो।

सङ्क्रमणका कारण दाँत निकै बिग्रिएको अवस्थामा थियो। मुखभित्रको यस्तो सङ्क्रमणले मुटुको शल्यक्रियामा ठूलो जोखिम निम्त्याउन सक्ने भएकाले गङ्गालालमा तय भएको अपरेसन रोकियो। त्यसपछि दाँतको उपचारका लागि उनलाई कान्ति बाल अस्पतालमा रिफर गरियो।

डा. सन्तोषको टिमले बालकको दाँतको परीक्षण गर्यो। उपचारका क्रममा ती बालक निकै आत्तिए र डराए। तर, मुटुको सफल शल्यक्रियाका लागि पहिले दाँतको उपचार गरी मुखभित्रको सङ्क्रमण हटाउनु अनिवार्य थियो। त्यसैले, गङ्गालाल अस्पतालमै लगेर ती बालकको दाँतको उपचार गरियो र सङ्क्रमण हटाइयो। डा. सन्तोषले जोखिम मोलेरै गरेको त्यो उपचार सफल भयो।

दाँतको उपचारपछि बालकको मुटुको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भयो र उनले नयाँ जीवन पाए। ती बालकको ज्यान बचाउन पाएकोमा डा. सन्तोष आज पनि निकै हर्षित छन्। आर्थिक अवस्था कमजोर रहेका ती बालकलाई अहिले पनि नियमित फलोअपमा ल्याउने गरिन्छ र उनको स्वास्थ्य अवस्था ठिक रहेको डा. सन्तोषले सुनाए।

बाल दन्तरोग विशेषज्ञताको यात्रा
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर-७ मा जन्मिएका डा. सन्तोष धरेलले स्थानीय श्री अचने उच्च माविबाट २०६४ सालमा उत्कृष्ट अङ्कका साथ एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौं आएर निष्ट कलेजबाट प्लस टु गरेका उनलाई सानैदेखि चिकित्सक बन्ने अभिलाषा थियो। सोहीअनुरूप उनले आफ्नो तयारीलाई अगाडि बढाए।

डा. सन्तोष सन् २०११ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको काठमाडौंस्थित पिपुल्स डेन्टल कलेजमा बीडीएस (ब्याचलर अफ डेन्टल सर्जरी) अध्ययनका लागि भर्ना भए। उनले सन् २०१७ मा बीडीएसको अध्ययन पूरा गरे। त्यसपछि उनले करिब चार वर्ष विभिन्न निजी अस्पतालहरूमा मेडिकल अधिकृतका रूपमा करार सेवामा रहेर काम गरे।

उच्च शिक्षा हासिल गर्ने तीव्र इच्छा रहेका डा. सन्तोषले सरकारी छात्रवृत्ति कोटामा स्नातकोत्तर अध्ययनको अवसर पाए। सन् २०२१ मा उनी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘मास्टर अफ डेन्टल सर्जरी’ (एमडीएस) अध्ययनका लागि भर्ना भए।

उनले स्नातकोत्तर तहमा बाल दन्तरोग विषय रोजे। यस विधाका विशेषज्ञलाई विशेषगरी बालबालिकाको दाँतको उपचार, रोकथाम तथा मर्मत सम्भार गर्ने चिकित्सकका रूपमा चिनिन्छ।

सन् २०२४ मा एमडीएस अध्ययन सकेपछि सरकारी छात्रवृत्ति सर्त अनुसार उनले दुई वर्ष अनिवार्य सरकारी सेवा गर्नुपर्ने थियो। सोही क्रममा उनले नुवाकोटको त्रिशूली अस्पतालमा करिब १४ महिना सेवा पुर्याए। त्रिशूलीपछि हाल उनी काठमाडौंस्थित कान्ति बाल अस्पतालमा बाल दन्तरोग विशेषज्ञका रूपमा कार्यरत छन्।

नेपालमा बाल दन्तरोगको विधा तुलनात्मक रूपमा नयाँ रहेको र यो विषय अध्ययन गर्नेहरूको सङ्ख्या पनि न्यून रहेको डा. सन्तोष बताउँछन्। नेपालमा सरकारी छात्रवृत्ति कोटामा धरानबाहेक अन्यत्र यो विषय अध्ययन गर्ने अवसर नरहेको र हाल देशभर यस विधाका विशेषज्ञहरूको सङ्ख्या करिब ५० को हाराहारीमा मात्र रहेको उनले सुनाए।

बालबालिकाको मुखमा दाँत आउनुअघि देखि नै गरिने हेरचाह, दाँत किराले खाने समस्या, दाँत भर्ने, दाँतको जराको उपचार र तालु फाटेका बालबालिकाको शल्यक्रिया गरी गरिने उपचार नै उनको अध्ययन र विशेषज्ञताको मुख्य क्षेत्र हो। डा. सन्तोषका अनुसार ‘डाउन सिन्ड्रोम’ र ‘अटिजम’ जस्ता विशेष अवस्था भएका बालबालिकाको मुख तथा दाँतको उपचार गर्नु पनि यस विधाका चिकित्सकको प्राथमिकतामा पर्छ। 

वैशाख २६, २०८३ शनिबार २०:१८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।