द्वन्द्व निर्देशक नारायण प्रधानको हिजोका कुरा : रेखा र मौसमी फाइटमा आँटिला, भुवन केसी ज्यान कन्ट्रोल गर्नै सक्दैनथे
नेपाली चलचित्रका पुराना दर्शकलाई ‘के घर के डेरा’ फिल्मका खलनायकमध्ये एक हुन्- नारायण प्रधान। नेपाली चलचित्र क्षेत्रमा उनी द्वन्द्व निर्देशक (फाइट डिरेक्टर) का रूपमा पनि उत्तिकै कहलिए। हाल ६५ वर्ष पुगेका प्रधान नेपाल द्वन्द्व कलाकार संघका अध्यक्षसमेत हुन्।
वि.सं. २०३३ सालमा काठमाडौं आएका उनी २०३५ सालदेखि ‘श्री समूह’मा प्रवेश गरेका थिए। सोही समूहमार्फत नाटकमा अभिनय थालेका उनले २०४० सालतिर बनेको ‘के घर के डेरा’बाट चलचित्रमा खलनायकका रूपमा डेब्यु गरेका हुन्।
त्यस समयमा एउटा फाइटको दृश्य गरेबापत ३५० देखि ५०० रुपैयाँसम्म पारिश्रमिक पाएको उनी स्मरण गर्छन्। नेपालका अधिकांश पुराना र नयाँ पुस्ताका कलाकारसँग काम गरेका र एक्सन सिकाएका प्रधानले आफ्नो लामो अनुभव ‘उकेरा’ सँगको हिजोको कुराकानीमा यसरी सुनाए:
घरको समस्याले पढाइ छाडेर काठमाडौं
मेरो जन्म वि.सं. २०१८ सालमा काभ्रेको तत्कालीन कुशादेवी गाउँ पञ्चायत (हाल कुशादेवी नगरपालिका-३) मा भएको हो। मैले थाहा पाउँदा देशमा पञ्चायत व्यवस्था थियो। गाउँमा घाँस-दाउरा गर्दै स्कुल जानुपर्थ्यो। तीन दाजुभाइमध्ये म माइलो हुँ। हाम्रो पुर्खा बनेपाका रहेछन्, पछि बसाइँ सरेर कुशादेवी पुगेका हौँ।
घरको आर्थिक समस्याले हो वा आफैँ केही व्यवसाय गर्छु भन्ने सोचले, म २०३३ सालमा काठमाडौं प्रवेश गरेँ। गाउँकै कुशादेवी माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा पढाइ छाडेर काठमाडौं हिँडेको हुँ। बाँकी अध्ययन मैले काठमाडौंमै पूरा गरेँ। घर छोडेर काठमाडौं आएको पनि झण्डै ५० वर्ष भइसकेछ।
काठमाडौं आएपछि केही समय सानोतिनो व्यवसायमा अल्झिएँ। २०३५ सालतिर कृष्ण मल्ल सरहरूले खोल्नुभएको ‘श्री समूह’ भन्ने कलाकारहरूको नाट्य संस्थामा म पनि आबद्ध भएँ। त्यहाँ रहेर केही नाटकमा अभिनय गर्ने अवसर पाएँ। मेरो अभिनयको रहर त्यहीँबाट बाहिर आयो।

२०४० सालतिर सरकारी लगानीमा ‘के घर के डेरा’ फिल्म बन्ने घोषणा भयो। त्यतिबेला नेपाली चलचित्रका द्वन्द्व निर्देशक गोपाल भुटानी र उदयसिंह बोहोरा हुनुहुन्थ्यो।
हामीले गोपाल भुटानीसँग कक्षा लिएर फाइट सिक्यौँ। उहाँसँग विधिवत रूपमा फाइट सिक्ने पहिलो ब्याचमा म, पुरन जोशी, जय श्रेष्ठ, प्रताप अधिकारी, सुशील खड्का, किशोर मालाकारलगायत ५-६ जना मात्रै थियौँ।
हामीले ‘रियाक्सन’ र ‘एक्सन’ के हो, गालामा हान्दा कसरी छल्ने, पेटमा किक हान्दा कता ढल्ने र भुइँमा पछारिँदा आफू कसरी सुरक्षित हुने भन्ने प्राविधिक कुरा सिक्यौँ।
त्यो समयमा अहिलेको जस्तो ‘फोम’ ओछ्याएर लड्ने सुरक्षा प्रविधि थिएन। ढुङ्गा-मुढा जहाँ जे छ, त्यहीँ भ्वाकभ्वाक लड्नुपर्थ्यो। अहिले त ५-६ तलाबाट हाम फाल्दा पनि फोम ओछ्याइन्छ। धेरै वटा क्यामेराले सुरक्षित रूपमा दृश्य कैद गरिन्छन्। त्यसको तुलनामा अहिले फाइटका दृश्य खिच्न धेरै सहज र सुरक्षित छ।
‘के घर के डेरा’ र ‘आँधीबेरी’को त्यो कठिन एक्सन
पहिलोपटक ‘के घर के डेरा’ मा काम गर्दा गुरुले सिकाएकै भरमा फाइटका दृश्य दियौँ। फिल्ममा मेरो दृश्य यस्तो थियो- हिरोले विदेशबाट कमाएर ल्याएको पैसा लुट्न काजीले मलाई पठाउँछ। हामीले राम्ररी सिकेर गरेकाले कुनै चोटपटक लागेन।
सरकारी फिल्म भएकाले खर्चमा कन्जुस्याइँ पनि थिएन। यो फिल्म निकै चल्यो। त्यतिबेला फिल्म हेरेका दर्शकहरूले अझै पनि मलाई ‘तपाईं फलानो फिल्मको भिलेन होइन?’ भनेर सोध्नुहुन्छ।
तर, ‘आँधीबेरी’ फिल्मको सुटिङमा भने मलाई निकै गाह्रो भयो। अर्जुनजंग शाही दाइले फाइट हान्दा म लड्नुपर्ने दृश्य थियो। लड्ने ठाउँमा ढुङ्गा थिए तर लड्नुपर्ने बाध्यता थियो।
भुइँमा पछारिँदा भित्र जिउमा के भयो कुन्नी, रगतै छादुम्ला (बान्ता होला) झैँ भयो। मुखभरि रगत गनायो। त्यो बेला न सुरक्षा प्रविधि थियो, न इन्स्योरेन्स। गाह्रो कुरालाई पनि हामी मेहनत गरेर सहज बनाउँथ्यौँ।
द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि यो क्षेत्रमा मैले नै ल्याएको हुँ। ऊ पहिलादेखि नै अलि ‘उदण्ड’ स्वभावको मान्छे। एकपटक चितवनमा सुटिङ गर्दा ऊ स्प्रिङ बोर्डबाट उफ्रिँदा अनब्यालेन्स भएर भुइँमा पछारिन पुग्यो। मैले तत्कालै फोम तानेर नराखेको भए त्यो बेला ठूलै दुर्घटना हुन्थ्यो।
मद्रासी सिनेमाको अनुभव अनि हिरो नबन्ने चाहना
नेपालमा जस्तोसुकै जोखिम मोलेर काम गरिरहेको मैले एकपटक एउटा मद्रासी (साउथ इन्डियन) फिल्ममा काम गर्ने मौका पाएँ। त्यो फिल्ममा मैले एक तला माथिबाट फाल हान्नुपर्ने दृश्य थियो। म नेपाली फिल्मकै जस्तो सम्झेर माथिबाट उफ्रिन तयार भएँ।
त्यहाँको फाइट डिरेक्टरले मलाई रोक्दै भने, ‘कहाँ माथि गाको? यहीँ तलै बाट फाल हान्न। म माथिबाट नै फाल हानेको देखाइदिन्छु नि।’ म त छक्क परेँ। ए! त्यस्तो पनि हुँदो रहेछ भन्ने लाग्यो। यहाँ जहाँ भन्यो त्यहीँ उफ्रिने र लड्ने बानी परेको मान्छेलाई त्यहाँको प्रविधि देख्दा हामी कति पछाडि रहेछौँ भन्ने महसुस भयो।
गोपाल भुटानीसँग काम गर्दाको अनुभव एकदमै राम्रो रह्यो। उहाँ हामीलाई जति सिकाउनुहुन्थ्यो, त्यो आजसम्म काम लागिरहेको छ। उहाँ फाइट डाइरेक्टर मात्र नभएर पढेलेखेको र आर्ट (कला) को राम्रो ज्ञान भएको व्यक्ति हुनुहुन्थ्यो।
दार्जिलिङमा जन्मिएका उहाँ तामाङ थरका हुनुहुन्थ्यो। पुर्खा काभ्रेबाटै उता पुगेको भन्नुहुन्थ्यो। उहाँले आफ्नो गुरु ‘भुटानी’ सँग एक्सन सिकेको हुनाले सम्मानस्वरूप आफ्नो नामको पछाडि भुटानी राख्नुभएको रहेछ। उहाँको परिवार अहिले पनि इन्डियामै हुनुहुन्छ।

उहाँको एउटै धोको थियो- ‘मर्ने बेलामा नेपालको नागरिकता छातीमा राखेर मर्न पाए हुन्थ्यो।’ तर, नेपाली फिल्मलाई त्यति धेरै माया गर्ने र लगानी गर्ने उहाँको त्यो सपना भने अधुरै रह्यो।
मलाई हिरो बन्ने रहर कहिल्यै लागेन। हिरोको आयु छोटो हुन्छ, सीमित समयमै हराइहाल्छन्। फिल्म चलेन भने त झन् करिअर नै सकियो। हिरोले त नाच्ने गाउने मात्रै हो जस्तो लाग्थ्यो। तर, पोजेटिभ भन्दा नेगेटिभ क्यारेक्टरको काम सधैँ पाइराखिन्छ। छिमेकी देशमै हेरौँ न, नेगेटिभ क्यारेक्टर गर्नेहरू सधैँ चलिरहेकै हुन्छन्।
त्यसैले म खलनायककै भूमिकामा रमाएँ र अहिलेसम्म काम पाइरहेको छु। तत्कालीन समयका टेलिफिल्ममा खलनायक चाहियो भने मलाई नै बोलाउनुहुन्थ्यो। मैले ‘के घर के डेरा’, ‘ट्याक्सी ड्राइभर’, ‘चिनो’ हुँदै थुप्रै फिल्ममा खलनायकको भूमिका निर्वाह गरेको छु। पछिल्लो समय मैले काम गरेको ‘किन लाग्छ माया’ प्रदर्शनको तयारीमा छ।
रेखा र मौसमी आँटिला, भुवनलाई सिकाउनै गाह्रो
पुराना हिरोइनहरूले फाइट हान्दा खुट्टा पेटभन्दा माथि लान सक्दैनथे। त्यस्तो बेला हातमा जुत्ता लगाएर क्यामेराको पछाडिबाट भिलेनलाई कुटेको दृश्य खिचिन्थ्यो। अहिलेका नयाँ कलाकारले त मार्सल आर्ट नै सिकेर आएका हुन्छन्।
तर, पुरानामध्ये पनि केही अभिनेत्रीहरू फाइटमा एकदमै आँटिला थिए। कृष्टि मैनाली, मौसमी मल्ल र रेखा थापासँग मैले थुप्रै फाइट दृश्यमा काम गरेको छु।
रेखा थापा त जस्तोसुकै कठिन दृश्य राख्दा पनि पछि नहट्ने मान्छे हुन्। मौसमी मल्ल पनि ‘यो भिरबाट हाम फाल्नुपर्छ’ भन्यो भने ‘नाइँ’ नभन्ने आँटिली अभिनेत्री हुन्। उनीहरूको डिक्सनरीमा 'नाइँ' भन्ने शब्दै थिएन। उनीहरूलाई हल्का सिकाए पुग्थ्यो।

हिरोहरूको कुरा गर्दा धेरैजसोको फाइट राम्रो थियो। तर, जति सिकाए पनि नजान्ने अभिनेता भने भुवन केसी हुन्। उनलाई जति सिकाए पनि मान्छेलाई साँच्चिकै लाग्ने गरी हान्थे।
पाटनको एउटा गोदाममा ‘राँको’ फिल्मको सुटिङ हुँदा भुवनले एउटा केटालाई साँच्चिकै किक हानेर फत्र्याक्-फत्र्याक पारेका थिए। त्यो केटा निकै रिसाएको थियो। अरू अभिनेताहरू फाइट गर्दा आफ्नो शरीरलाई नियन्त्रण गर्न सक्थे, तर भुवनले कहिल्यै कन्ट्रोल गर्न जान्नुभएन।
वैशाख २५, २०८३ शुक्रबार १४:३६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।