डा. पुष्पाको उपचार अनुभव : आँखा नदेखेरै पढाइ छुटेका १६ वर्षीय युवाको ज्योति फर्कियो
आँखाको ज्योति फर्काएर अँध्यारोबाट उज्यालो संसार देखाउने चिकित्सकीय कर्ममा तल्लीन छिन्- नेत्ररोग विशेषज्ञ डा. पुष्पा गिरी।
दुई सय भन्दा बढी व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरेकी उनको दैनिकी नै आँखामा समस्या भएका बिरामीहरूको जाँच गर्ने, औषधि उपचार गर्ने र आवश्यक परे शल्यक्रिया गरेर उनीहरूको दृष्टि फर्काउने कोशिस गर्नु हो।
उनै नेत्ररोग विशेषज्ञ डा. पुष्पाले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेकी छन्ः
जब ती १६ वर्षे युवाको आँखाको ज्योति फर्कियो
स्वास्थ्य शिविरमा गएका बेला एक जना युवाको आँखाको ज्योति फर्काइदिएको प्रसंग डा. पुष्पा कहिल्यै भुल्दिनन्। प्रसङ्ग करिब पाँच वर्ष अघिको हो। सर्लाहीको अलि दुर्गम क्षेत्रमा उनको टिम आँखाको स्वास्थ्य शिविर लिएर गएको थियो।
आँखाको शिविरमा नै गएका बेला एक दिन डा. पुष्पाको टिम एउटा होटलमा खाजाखान छिर्यो। त्यो होटलमा एक जना करिब १६ वर्षका युवा काम गर्न बसेका रहेछन्। होटल साहुनीसँग गफ गर्दै जाँदा ती युवाले आँखा नदेखेको वर्षौं भइसकेको रहेछ।
आँखा देख्न कम भएपछि स्कुल छुटेका उनी त्यसपछि चैँ भाँडा माझ्ने लगायतको होटलको काम गरेर जीविकोपार्जन गर्न थालेका रहेछन्।
ती कलिला युवाको अवस्था देखेर डा. पुष्पाको मन छायो। अनि उनले होटलकी साहुनीलाई आँखाको स्वास्थ्य शिविरमा उपचारका लागि ती युवालाई पठाउन अनुरोध गरिन्।

त्यसपछि होटलकी साहुनीले पनि ती युवाको आँखाको उपचार गरिदिन सहमत भइन्। अनि खाजा खाएर डा. पुष्पालगायतको चिकित्सकको समूह आँखाको शिविर गर्ने निर्धारित स्थानमा पुग्यो।
होटलकी साहुनीले पनि ती युवाको आँखाको उपचारका लागि कसैको साथ लाएर पठाइदिइन्। स्वास्थ्य जाँचको क्रममा ती युवाको आँखाको मोतिबिन्दूको समस्या भएको थाहा भयो
त्यसपछि डा. पुष्पाले ती युवाकोे एउटा आँखाको शल्यक्रिया गरिदिइन्। उनलाई याद भएसम्म ती युवाको दायाँतर्फको आँखाको शल्यक्रिया गरियो।
शल्यक्रियापछि शल्यक्रिया गरिएको आँखामा उनले पट्टि लगाइदिइन्। अनि भोलिपल्ट ती युवाको शल्यक्रिया गरिएको आँखाको डा. पुष्पाले नै पट्टि खोली दिइन्। युवाले त छर्लंङ्गै आँखा देखिहाले।

आँखा देखेपछि ती युवा कम्ता रमाएनन्। आँखाको ज्योति फर्किएर संसार देखेपछि ती युवाको ओठमा छाएको त्यो मुस्कान देखेर डा. पुष्पा असाध्य खुसी भइन्। अनि उनले मनमनै सोचिन्,‘धन्य, एक जना दृष्टिविहीन बनिसकेका युवाको आँखाको ज्योति फर्काइयो। उनले संसार देखे। अब गरिखान्छन्।’
पछि ती युवाको अर्को आँखाको पनि शल्यक्रिया भएछ। ती युवा दुवै आँखा देख्ने भएर स्कुल समेत गएको सुन्दा उनलाई बडो खुसी लाग्यो।
आँखाको ज्योति फर्किएपछि जब ती जोडी फनन घुमेर नाचे
त्यसैगरी एक जोडी श्रीमान्-श्रीमतीको आँखाको ज्योति फर्काएको प्रसंग पनि डा. पुष्पा कहिल्यै भुल्दिनन्।
प्रसंग केही वर्ष अघिको हो। डा. पुष्पा सहित चिकित्सकको समूह आँखाको स्वास्थ्य शिविर लिएर चितवनकै हुम्सिकोटमा पुगेको थियो। आँखाको त्यो स्वास्थ्य शिविरमा पुग्ने विभिन्न बिरामीमध्ये करिब ६० वर्षका पुरुष र करिब ५५ वर्षकी महिला पुनि पुगेका थिए।
तर, उनीहरू हेर्दै निक्कै पाको उमेरका जस्ता देखिन्थे। ती श्रीमान्-श्रीमती ठ्याम्मै आँखा नदेख्ने भइसकेका रहेछन्। उनीहरुको आँखाको ज्योति गुमेकाले स्वरले मात्रै को मान्छे हो भन्ने थाहा पाउँथे।

आँखाको स्वास्थ्य शिविरमा डा. पुष्पाले ती जोडीको आँखाको परीक्षण गरिन्। उनीहरूको मोतिविन्दूकै समस्या भएको थाहा भयो। त्यसपछि उनले दुवैको एउटा-एउटा आँखाको शल्यक्रिया गरिदिइन्। अनि आँखामा पट्टी लगाइदिइन्। भोलिपल्ट उनीहरूको आँखाको पट्टी खोलियो।
पट्टी खोलेपछि त श्रीमान्-श्रीमतीले एक अर्काको मुख हेर्दै रमाउन थाले। दुवैले एक अर्काको अनुहार देखेपछि ती उनीहरू आँखाको ज्योति फर्किएको खुसियालीमा ‘फनन्’ घुमेर नाच्न पो थाले। उनीहरू रमाएको देख्दा डा. पुष्पा पनि भावुक बनिन्। अनि आँखाको ज्योति फर्काउन सफल भएकोमा खुसी पनि भइन्।
ती जोडिको आँखाको ज्योति फर्काइदिएको त्यो प्रसंग सम्झँदा अझै डा. पुष्पालाई बडो आनन्द लाग्छ।
अध्ययनमा अब्बल, डाक्टरी रहर
२०४० सालमा चितवनको भरतपुरस्थित चौबिसकोटीमा जन्मिएकी पुष्पा सानैदेखि पढाइमा अब्बल थिइन्।
स्थानीय स्मल ह्याभन बोर्डिङ स्कुलबाट उत्कृष्ट अंकसहित एसएलसी उत्तीर्ण गरेपछि उनको लक्ष्य स्पष्ट थियो- डाक्टर बन्ने। सन् २००२ मा काठमाडौँ विश्वविद्यालय अन्तर्गतको ‘कलेज अफ मेडिकल साइन्सेस’मा भर्ना भएकी उनी २००७ मा एमबीबीएस पूरा गरिन्।
एमबीबीएसपछि तीन वर्ष मेडिकल अधिकृतका रूपमा काम गरेकी उनलाई थप अध्ययन गर्ने हुटहुटी चल्यो। उनले सोही कलेजमा २०११ मा एमडिएमएस (नेत्ररोग) सुरु गरिन्।
यद्यपि, उनको पहिलो रोजाइ प्रसूति तथा स्त्रीरोग थियो। भाग्यवश, दोस्रो र तेस्रो विकल्पका रूपमा रहेको नेत्ररोग विषयमा उनले अवसर पाइन् र त्यही विषयमा आफूलाई समर्पित गरिन्।
भरतपुर अस्पताल र कर्निया विभागको स्थापना
सन् २०१५ देखि भरतपुर आँखा अस्पतालमा प्रवेश गरेकी डा. पुष्पाले आफ्नो ज्ञानलाई थप निखार्न भारतको प्रसिद्ध ‘अरबिन्द आई इन्स्टिच्युट’ पुगेर कर्निया प्रत्यारोपणमा विशिष्टीकृत (सुपरस्पेसलाइजेसन) फेलोसिप गरिन्।
सन् २०१७ मा नेपाल फर्केपछि उनले अस्पतालमा कर्निया विभागको स्थापना गरिन्। सुरुवाती दिनमा आफैं नेतृत्व लिएर नानी प्रत्यारोपण सुरु गर्दा अनेकन चुनौति थिए। तर, उनी पछि हटिनन्।

आज उनले भरतपुर आँखा अस्पतालको ‘मेडिकल डाइरेक्टर’का रूपमा जिम्मेवारी सम्हालिरहेकी छिन्।
उनको सीप र अस्पतालको सेवाका कारण भारतको बिहारलगायतका क्षेत्रबाट समेत ५० प्रतिशत बिरामी आँखाको नानी प्रत्यारोपणका लागि भरतपुर आउने गर्छन्। उनी चोटपटक लागेर, घाउ भएर वा अल्सरका कारण नानी बिग्रिएका बिरामीहरूको उपचारमा केन्द्रित छिन्।
चिकित्सकीय दैनिकी र पारिवारिक सन्तुलन
डा. पुष्पाको दैनिकी अस्पतालमा बिरामीको जाँच, जटिल शल्यक्रिया, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका विद्यार्थीलाई पढाउने र आँखासम्बन्धी अनुसन्धान गर्ने क्रममा नै बित्छ। अस्पतालभित्र मात्र होइन, उनी दुर्गम भेगमा स्वास्थ्य शिविरको नेतृत्व गर्दै हजारौँको जीवनमा ज्योति छर्दै आएकी छिन्।
उनका श्रीमान् पनि चिकित्सक नै हुन् र उनीहरूका दुई छोरा छन्। ‘पारिवारिक सहयोग र बुझाइ रहेकैले यो कठिन पेशालाई अघि बढाउन मलाई सहज भएको छ’, उनले सुनाइन्।

दुर्गमका दृष्टिविहीनले आँखा देख्दा मिल्ने आत्मसन्तुष्टि नै उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।
११ वर्षभन्दा लामो समयदेखि भरतपुर आँखा अस्पतालमा अनवरत सेवा दिइरहेकी डा. पुष्पा अहिले पनि उत्तिकै उत्साहका साथ भन्छिन्, ‘आँखा देख्न नसक्नेहरूका लागि संसारको सबैभन्दा ठूलो उपहार भनेकै ज्योति हो, र त्यो उपहार दिन पाउनु मेरो सौभाग्य हो।’
वैशाख १९, २०८३ शनिबार १३:१६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।