'खरानी ग्याङ'को चर्चाबीच प्रिमियरमा सुनियो रविको प्रशंसा : 'रामकृष्ण घामले सुक्ने तलाउ होइनन्'

'खरानी ग्याङ'को चर्चाबीच प्रिमियरमा सुनियो रविको प्रशंसा : 'रामकृष्ण घामले सुक्ने तलाउ होइनन्'

काठमाडौं : ‘बोल्दा प्याच्च नबोल्नु, बस्दा थ्याच्च नबस्नु’ भन्ने नेपाली समाजको चर्चित उखान अहिले गायक तथा फिल्म ‘मालती मंगले’का निर्माता रामकृष्ण ढकालको हकमा सान्दर्भिक देखिएको छ। 

केही दिनअघि एक अन्तर्वार्तामा खुलेर प्रस्तुत हुनेक्रममा राखेका केही प्रसंगका कारण उनी विवादमा तानिएका छन्। कसैलाई थाहा नभएको विषयमा खुलेर बोलेपछि अहले उनलाई ‘खरानी ग्याङ’को आरोप लाग्न थाल्यो।

गायक ढकालले अन्तर्वार्तामा आफूले जेनजी आन्दोलनको क्रममा सहकारी ठगीको मुद्दामा नख्खु कारागारबाट बाहिर निस्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा राखेर घरसम्म पुर्याएको कुरा खोलेका थिए। यसअघि उक्त कुरा सार्वजनिक भएको थिएन। 

आफ्नो फिल्मको प्रचारमा मद्दत पुग्ने सोचेर वा भावनामा बहकिएर उनले उक्त कुरा आफैँ सार्वजनिक गरे। तर, यसले उल्टै सामाजिक सञ्जालमा उनको फिल्म बहिष्कार गर्नेसम्मका प्रतिक्रिया निम्त्याएको छ। फिल्म प्रदर्शनको पूर्व सन्ध्यामा बुधबार फिल्मको प्रिमियर गरिएको थियो।

सोही कार्यक्रममा गायक ढकालले रवि लामिछानेलाई निमन्त्रणा गरे र लामिछाने प्रिमियरमा उपस्थित पनि भए। लामिछानेको उपस्थितिमा सञ्चारकर्मीले ढकालमाथि लागेको ‘खरानी ग्याङको ड्राइभर’ भन्ने आरोपबारे प्रश्न गरे। सञ्चारकर्मीले लामिछानेलाई सोधे, ‘रामकृष्ण ढकाललाई खरानी ग्याङको ड्राइभर भनेर आलोचना भइरहेको छ, यस विषयमा के भन्नुहुन्छ? उहाँलाई यसले अलिक तनाव पनि परेको जस्तो देखिन्छ नि!’

जवाफमा लामिछानेले यस्ता टिप्पणीले खासै फरक नपर्ने बताउँदै ढकाल एक मूर्धन्य कलाकार भएको र उनलाई संसारभरले चिन्ने दाबी गरे। ढकाललाई छेवैमा राखेर उनले भने, "कसलाई के भनेर रमाइलो लाग्छ। त्यसो भनेर रमाइलो मान्नेहरूलाई रमाइलो मान्न दिनुहोस् न। कति रमाइलो लागेको छ, उहाँहरूलाई। त्यसो भन्न पाउँदा एउटा मूर्धन्य कलाकारलाई, जसले एउटा बाल्यकालदेखि आजसम्म संगीतको साधना गर्यो। कुनै अर्को कारणले गर्दा होइन। आफ्नो आवाज, आफ्नो साधना, आफ्नो मेहनत, आफ्नो परिश्रमीले यति ठूलो नाम, यति ठूलो प्रतिष्ठा संसारभरि कमाएको एउटा व्यक्तिलाई कुनै एउटा कुरालाई लिएर अपमानित गर्न पाउँदा कोही खुशी हुन्छन् भने उनीहरूलाई खुशी हुन दिनुहोस्। केही फरक पर्दैन।"

लामिछानेले प्रशंसा गरिरहँदा ढकाल मुस्कुराइरहेका देखिन्थे। संसदमा करिब दुई तिहाइ शक्ति भएको पार्टीको सभापतिले यसरी प्रशंसा गरिरहँदा त्यसको सकारात्मक असर फिल्मको व्यापारमा रहला भन्ने उनको अपेक्षा रहेको हुनसक्छ। प्रफुल्लित ढकालको अनुहारमा हेर्दै लामिछानेले थप हौसला दिँदै भने, "रामकृष्ण ढकाल भनेको घामले सुक्ने तलाउ होइन। रामकृष्ण ढकालले घामपानी हुरी झरी, आँधिहुरी बतास सबै देखेको छ। त्यस कारण सानातिना घटनाले विचलित हुने त्यो रामकृष्ण ढकाल होइन। त्यस्तो रामकृष्ण ढकाल होइन।"

यद्यपि, राजनीति र फिल्मको व्यावसायिक सफलता फरक कुरा हुन्। यसअघि रमित ढुङ्गानाले फिल्म ‘नमेटिएको घाउ’ बनाउँदा प्रमुख दलका कार्यकर्ताहरूको अपेक्षित साथ नपाएको उदाहरण छ। कुनै राजनीतिक व्यक्तित्वको समर्थन पाउँदैमा फिल्म सफल हुन्छ भन्ने बुझाइ कत्तिको सही होला ? यो भने फिल्म प्रदर्शनमा आएपछि नै अझ स्पष्ट हुनेछ।

वैशाख २४, २०८३ बिहीबार २२:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।