‘शिविरमै अप्रेशन गरेका वाईसीएल कार्यकर्ता धन्न बाँचे, मरेको भए माओवादी लडाकुले मलाई के गर्थे होला?’
काठमाडौं : डा. हरिबहादुर खड्का बालरोग विशेषज्ञ हुन्। बालबालिकाको स्वास्थ्य परीक्षण गरी रोग पत्ता लगाउनु र उपचार गरेर उनीहरूको ज्यान बचाउनु उनको मुख्य चिकित्सकीय धर्म तथा कर्म हो।
यस्तै कर्ममा तल्लीन डा. हरिले आफ्नो चिकित्सकीय पेसाका सिलसिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेका छन्:
जब गरिब बाबुले रुँदै भने- ‘मरे मरोस्, उपचार गर्न काठमाडौं लान सक्दिनँ’
हेटौंडा अस्पतालमा काम गर्दाको एउटा घटना डा. हरि कहिल्यै भुल्दैनन्। केही वर्षअघि करिब चार वर्षका एक बालकलाई उपचारका लागि त्यहाँ पुर्याइएको थियो।
छारे रोगको जस्तै लक्षण देखिएका ती बालक निरन्तर कामिरहन्थे। उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो, तर त्यतिबेला हेटौंडा अस्पतालमा आईसीयू लगायतका पूर्वाधार थिएनन्।
त्यसैले डा. हरिको टोलीले बालकलाई काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ‘रिफर’ गर्ने सल्लाह दियो।
तर, ती बालकका बाबु-आमाको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। छोरालाई काठमाडौं लगेर उपचार गराउन सक्ने उनीहरूको सामर्थ्य नै थिएन।

डाक्टरको सल्लाह सुनेपछि बाबुले अँध्यारो मुख लगाउँदै तप्प आँसु खसालेर भनेछन्, ‘छोरो बाँच्छ भने यहीँ उपचार गरिदिनुस्। मेरो छोरो यहीँ मरोस्, काठमाडौं लान कसले पैसा दिन्छ र!’
बाबुको त्यो लाचारीले डा. हरिको मन नराम्ररी छोयो। त्यसपछि ३-४ दिनसम्म हेटौंडामै राखेर उपचार गरियो। तर, थप उपचारका लागि अन्यत्र नपठाई नहुने अवस्था आयो। पैसा नभएकै कारण बालकलाई त्यत्तिकै घर फर्काउँदा मृत्यु निश्चित थियो।
त्यसपछि डा. हरि आफैं ती बालकको उपचारका लागि पैसा जुटाउन सक्रिय भए। विभिन्न व्यक्तिसँग आर्थिक सहयोग मागेर करिब ४० हजार रुपैयाँ जम्मा गरे र ती बाबुलाई दिए। आफैँले कान्ति बाल अस्पतालमा उपचारको चाँजोपाँजो मिलाइदिएर बालकलाई काठमाडौं पठाए।
बाँच्ने आशासहित बाबुले छोरालाई कान्ति अस्पताल पुर्याए। परीक्षणका क्रममा बालकको मस्तिष्कमा पानी जमेको र गम्भीर समस्या रहेको पत्ता लाग्यो। मस्तिष्कको शल्यक्रिया गर्नुपर्ने भएपछि कान्तिले वीर अस्पताल पठायो।
वीरका न्युरो सर्जनहरूको टोलीले शल्यक्रिया त गर्यो, तर अथक प्रयासका बाबजुद ती चार वर्षे बालकलाई बचाउन सकिएन। अस्पतालमै उनले प्राण त्यागे।
चन्दा संकलन गरेरै भए पनि बचाउने आशामा काठमाडौं पठाएका बालकको मृत्युको खबरले डा. हरि मर्माहत बने। त्यो घटना सम्झँदा आज पनि उनको मन भक्कानिन्छ।
शिविरमा शल्यक्रिया गर्दा ती वाईसीएलको मृत्यु भएको भए...
सिन्धुलीको दुधौलीस्थित तत्कालीन माओवादी लडाकु शिविरमा एक वाईसीएल कार्यकर्ताको उपचार गर्दाको क्षण पनि डा. हरिका लागि अविस्मरणीय छ। करिब १८ वर्षअघि मेडिकल अधिकृतका रूपमा उनी त्यहाँ खटिएका थिए।
एक दिन करिब २५ वर्षका युवालाई उपचारका लागि शिविरमा ल्याइयो। उनका न कोही आफन्त थिए, न त उपचार गर्ने पैसा नै।

डा. हरिले स्वास्थ्य परीक्षण गर्दा ती युवाको टाउकोमा आधा किलोभन्दा बढी तौलको बोसो जमेको मासुको डल्लो (लिपोमा) देखियो। त्यसलाई शल्यक्रिया गरेर फाल्नुको विकल्प थिएन।
त्यतिबेला डा. हरि विशेषज्ञ नभई एमबीबीएस तहका चिकित्सक मात्र थिए। शल्यक्रियाका क्रममा कुनै जटिलता निम्तिए के गर्ने भन्ने दुविधा एकातिर थियो भने, शिविरबाहिर लगेर उपचार गर्ने अवस्था पनि थिएन। जोखिम मोलेरै उनले शल्यक्रिया सुरु गरे।
डा. हरिले जे नहोस् भन्ने सोचेका थिए, त्यही भयो। शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव सुरु भयो। जति गर्दा पनि रगत बग्न नरोकिएपछि चिकित्सक टोली आत्तियो। ‘यहीँ मृत्यु भयो भने के होला?’ भन्ने डर र चिन्ताका बीच अनेकौं चिकित्सकीय उपाय अपनाइयो।
धन्न, लामो प्रयासपछि रक्तस्राव रोकियो। टाउकोको मासुको डल्लो सफलतापूर्वक निकालियो। सीमित स्रोतसाधनका बाबजुद बिरामीको ज्यान बचेपछि डा. हरिले लामो सास फेरे। केही दिनको उपचारपछि ती युवा पूर्ण रूपमा निको भए।
‘धन्न मान्छे बचाउन सफल भइयो, यदि ज्यान गएको भए मेरो हालत के हुन्थ्यो होला? माओवादी लडाकुले मलाई के गर्थे होलान्?’, उनी अझै सोच्छन्।
त्यो पल सम्झँदा आज पनि उनको आङ सिरिङ्ग हुन्छ। निको भएपछि ती युवाले देखाएको कृतज्ञता भने डा. हरिका लागि ठूलो सन्तोषको विषय बन्यो।
बन्दुकधारी शिविरमा छिर्दाको त्यो डर र पाएको माया
२०६३ सालमा लोकसेवा पास गरी सातौं तहको मेडिकल अधिकृतका रूपमा स्थायी जागिर सुरु गरेपछि डा. हरि सिन्धुलीको सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टिङ भएका थिए।
त्यतिबेला विद्रोही माओवादी र सरकारबीच भर्खरै शान्ति सम्झौता भएको थियो। सेना समायोजनअघि लडाकुहरू शिविरमा थिए।
सरकारले डा. हरिलाई दुधौलीस्थित माओवादी शिविरमा काजमा खटायो। जंगलको रापतापबाट भर्खरै शान्ति प्रक्रियामा आएको बन्दुकधारी शिविरमा जान जोकोही चिकित्सक डराउँथे। डा. हरिलाई पनि सुरुमा डर लाग्यो, तर ‘सके काम गरौंला, नसके हिँडौंला’ भन्ने अठोटका साथ उनी त्यहाँ पुगे।

सुरुवाती दिनहरू निकै असहज थिए। तर, बिस्तारै पेसागत कर्तव्यसँगै लडाकुहरूसँग उनको भावनात्मक सम्बन्ध जोडिन थाल्यो। घाइते र दुःख पाएका ‘कमरेड’हरूले उनीसँग दुःख-सुखका कथा बिसाएर मन हल्का पार्न थाले। लडाकुहरूले उनलाई ‘डाक्टर साब’ भन्दै निकै सम्मान गर्थे।
करिब साढे दुई वर्ष त्यहाँ बस्दा डा. हरिले धेरै लडाकु, उनीहरूका परिवार र स्थानीयको उपचार गरे। माओवादीको जीवनशैली र संस्कृति नजिकबाट बुझे।
उनले सबैको मन यति जितेका थिए कि, शिविरबाट बिदाइ हुने बेला लडाकुहरूले उनलाई भव्य सम्मानका साथ बिदा गरे। त्यो न्यानो बिदाइ सम्झँदा उनी आज पनि आनन्दित हुन्छन्।
रामेछापमा जन्म, अध्ययनमा सधैँ अब्बल
रामेछापको साविक गेलु गाविस-५, जल्किनीमा २०३० सालमा जन्मिएका हरिले कक्षा ४ सम्म स्थानीय विद्यालयमै पढे।
पछि परिवार सर्लाहीको लालबन्दी बसाइँ सरेपछि उनले नवलपुरस्थित नवजीवन माविबाट २०४७ सालमा एसएलसी उत्तीर्ण गरे। अध्ययनमा अब्बल हरि एसएलसीमा तत्कालीन जनकपुर अञ्चलमै दोस्रो भएका थिए।
सानैदेखि डाक्टर बन्ने रहर बोकेका उनले २०४८ सालमा महाराजगन्ज चिकित्सा क्याम्पसमा एचए (हेल्थ असिस्टेन्ट) भर्ना भए। २०५१ मा प्रथम श्रेणीमा एचए सकेपछि तराईका विभिन्न क्याम्पसमा पुगेर सिएमएका विद्यार्थीलाई पढाए।
तर, उनको सपना त्यतिमै सीमित थिएन। कडा मिहिनेतका साथ परीक्षा दिएर उनले सरकारी छात्रवृत्तिमै एमबीबीएस पढ्ने अवसर पाए।
२०५६ सालमा महाराजगन्ज क्याम्पसमै भर्ना भएका उनले सन् २००४ (२०६१ साल) मा प्रथम श्रेणीमै एमबीबीएस पूरा गरे। छोरा डाक्टर बनेपछि निम्न मध्यम वर्गीय परिवारमा खुसीको सीमा रहेन।
डाक्टर बनेपछि उनले पहिलो जागिरका रूपमा काठमाडौं मोडल अस्पतालको चरिकोटस्थित ‘स्याटेलाइट’ अस्पतालमा करिब सात महिना काम गरे।
सरकारी जागिर र बालरोग विशेषज्ञको यात्रा
२०६३ सालमा सरकारी जागिरे भएर अढाई वर्ष माओवादी शिविरमा काम गरेपछि डा. हरिले विशेषज्ञता हासिल गर्ने सोच बनाए।
२०६६ सालमा सरकारी छात्रवृत्तिमै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट उनले बालरोग (पेडियाट्रिक) विषयमा एमडी सुरु गरे।
२०६९ मा एमडी सकेपछि उनी सरुवा भएर हेटौंडा जिल्ला अस्पताल पुगे। त्यसयता १३ वर्षदेखि उनी निरन्तर हेटौंडामै सेवारत छन्।
यसबीचमा बढुवा हुँदै दसौं तहमा पुगेका उनले बालरोग विभाग प्रमुख हुँदै अस्पताल प्रमुख (मेसु) को जिम्मेवारी समेत सम्हाले। यद्यपि, प्रशासकीय कामभन्दा बिरामीको उपचारमै रमाउने भएकाले चार वर्षका लागि नियुक्त भए पनि आठ महिनामै मेसुबाट राजीनामा दिए।

हाल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको यस अस्पतालमा बालबालिकाको रोग पत्ता लगाउनु र उपचार गर्नु नै उनको दैनिकी हो।
प्रतिष्ठानमा सह-प्राध्यापकका रूपमा उनी विद्यार्थीलाई पढाउँछन् र कार्यकारी समिति सदस्यको भूमिकासमेत निर्वाह गरिरहेका छन्। उनका कयौं अनुसन्धानात्मक आलेखहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
नेपाल चिकित्सक संघ, बालरोग विशेषज्ञ समाजलगायत विभिन्न सामाजिक संस्थामा सक्रिय डा. हरि भन्छन्, ‘बालबालिकाको उपचारमा खटिँदा चिकित्सक निकै धैर्यवान् र संवेदनशील हुनुपर्छ। अबोध बालबालिकाले आफ्नो पीडा भन्न सक्दैनन्, चिकित्सकले नै धैर्यता नगुमाई उनीहरूको समस्या बुझेर उपचार गर्नुपर्छ।’
वैशाख १२, २०८३ शनिबार १२:१२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।