निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, घाँटी थिचेर हत्या गरेको आशंकामा तीन जना पक्राउ
रौतहट : बाराको निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा एक १९ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्।
निजगढ नगरपालिका–१२ कोलगाउँकी सीता थिङको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार थिङ एक युवकसँग उक्त होटलमा बसेकी थिइन्।
शुक्रबार राति करिब ११ बजे उनलाई निजगढ सामुदायिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए। अहिले मृतकको शव सोही अस्पतालमा राखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने देखाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि प्रहरीले होटलमा मृतक युवतीसँगै रहेका तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा दुई पुरुष र एक महिला रहेका छन्। प्रहरीले हालसम्म उनीहरूको परिचय भने सार्वजनिक गरेको छैन।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र दोषी देखिएकाहरूलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।
वैशाख २६, २०८३ शनिबार १३:०६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।