गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आशिंक सफाइ पाएका यादवविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरीक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा आशिंक सफाइ दिएको थियो। गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको आयोगको ठहर छ।
विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, थप कारबाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिए।
वैशाख २५, २०८३ शुक्रबार १९:१६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।