फिल्म लालीबजार रिलिजको कानुनी बाटो खुल्यो, तर सञ्जालमा बहिष्कार अभियान निरन्तर
काठमाडौं : समुदाय लक्षीत वादी लगायतका शब्द नसुनिने बनाउने सर्तमा चलचित्र सेन्सर बोर्डबाट फिल्म प्रदर्शनको अनुमती पाएको आधारमा टेक्दै उच्च अदालत पाटनले फिल्म लालीबजारमाथिको अन्तरिम आदेशलाई निरन्तरता दिएन।
बुधवारको बहसमा अदालतलको इजलासले चलचित्रको विभिन्न स्थानमा कुनै समुदाय लक्षित गरेर नकारात्मक भुमिकामा प्रयोग भएको, 'वादी' शब्द साथै होच्याएर प्रयोग गरिएका 'राजा साहबको चढाउने प्रसाद', 'राजाको सामान' लगायतका शब्दहरु नसुनिने बनाउने निर्णय भएको देखिएको भन्दै फिल्मको प्रदर्शनमा रोक लगाउने अन्तरिम आदेशलाई निरन्तरता नदिएको हो।
फिल्म प्रदर्शनपछि पनि कुनै प्रतिकुल असर पर्नेसम्मक देखिएकोमा अवस्थामा सरकारले नियमन गरेर चलचित्र प्रदर्शन रोक्न सक्ने वा आवश्यक देखे बमोजिम काटछाट गर्न सक्ने वा हेरफेर गर्न आदेश दिन सक्ने व्यवस्था रहेको भन्दै फिल्मको प्रदर्शनमा दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएन।
यो आदेशसँगै फिल्म लालीबजार रिलिज हुने कानुनी बाटो भने खुला भएको छ। तर भदौ २४ मा देखिएको निश्चल बस्नेतको सक्रियताका आधारमा उनीमाथि खरानी ग्याङको सदस्यको आरोप लगाउँदै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको अभियान भने चलिरहेकै छ।
यो फिल्ममा निश्चलको सम्बन्ध भनेको उनको श्रीमतीको अभिनय मात्रै हो। अभिनेत्री स्वस्तिमा पनि रास्वपाको समर्थक भए पनि उनी भदौ २३ र भदौ २४ को घटनामा कतै देखिएकी थिइनन्। निश्चल भने संसद भवन जलिरहेको बेलामा सेल्फि खिचाउँदै हिँडेको अवस्थामा नयाँबानेश्वर क्षेत्रमा देखिएका थिए।
पछि त उनी वालेन्द्र शाहहुँदै रास्वपाको राजनीतिमै सक्रिय भए। त्यसैको आधारमा फिल्मको विरोध भए पनि यो विरोध भने फिल्मको चरित्र वा सामग्री भन्दा पनि भदौ २४ को ब्यक्तीको भूमिकाको आधारमा हो।
वादी समुदायले भने आफ्नो समुदायको छवी धुमिल बनाउने गरी प्रस्तुत गरिएको दाबी गर्दै कानुनी लडाइमा गएको थियो। त्यसमा प्रारम्भमा अन्तरिम आदेश आएपछि कलाकारहरु अभिब्यक्ती स्वतन्त्रताको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका थिए। वादी समुदाय भने अहिले पनि सो फिल्मको विपक्षमा देखिएको छ।
वैशाख २३, २०८३ बुधबार १९:०४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।