सुनसरीमा एम्बुलेन्सबाट १४८ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद भएको छ।
गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका हुन्। सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो।
बुधबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा तस्करीको रहस्य खुलेको हो। एम्बुलेन्सभित्र प्लास्टिकका बोराहरूमा लुकाइछिपाइ राखेको अवस्थामा १४८ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले एम्बुलेन्सको प्रयोग गरी सीमावर्ती क्षेत्रबाट गाँजा भारततर्फ कटाउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र तस्करीमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
वैशाख २३, २०८३ बुधबार १४:४५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।