करियरकै उत्कृष्ट बलिङपछि गुलशन झाको आत्मविश्वास बढ्यो, घरेलु मैदानमा चारवटै खेल जित्ने लक्ष्य

करियरकै उत्कृष्ट बलिङपछि गुलशन झाको आत्मविश्वास बढ्यो, घरेलु मैदानमा चारवटै खेल जित्ने लक्ष्य

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुलशन झाले बलिङमा करियरकै उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाललाई अझ उचाइमा पुर्याउने आफ्नो आत्मविश्वास बढेको बताएका छन्।

मंगलबार ओमानविरुद्धको खेलमा झाले ३८ रन खर्चेर ५ विकेट लिँदै नेपाललाई सानदार जित दिलाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको दोस्रो ‘फाइफर’ हो। उनको यो म्याच-विनिङ प्रदर्शनले नेपाललाई लिग-२ को अंकतालिकामा शीर्ष चारमा रहेर आगामी वर्ष हुने विश्वकप छनोटमा सोझै स्थान बनाउने होडमा कायम राख्न मद्दत गरेको छ।

दायाँहाते तीव्र गतिका बलर झाले आफ्नो पहिलो स्पेलमै ओमानका ओपनर हसनैन उल वहाबको महत्त्वपूर्ण विकेट लिएका थिए। त्यसपछि डेथ ओभरमा बलिङमा फर्किएका उनले तल्लो क्रमका ब्याटरहरूलाई पेभिलियन फर्काउँदै ५/३८ को उत्कृष्ट व्यक्तिगत आँकडा तयार पारे।

२० वर्षीय झाको लागि यो लय लामो समयदेखिको पर्खाइ थियो। पछिल्लो समय बलिङमा निरन्तरता दिन नसकेर संघर्ष गरिरहेका उनले भर्खरै सम्पन्न आईसीसी टी-२० विश्वकपमा नेपालले खेलेका चारवटै खेलमा प्लेइङ ११ मा स्थान बनाए पनि बलिङ गर्ने अवसर पाएका थिएनन्।

ओमानविरुद्ध पुरानै लयमा फर्किएपछि झाले आफूमाथि विश्वास गर्ने प्रशिक्षक र परिवारलाई धन्यवाद दिएका छन्। म्याचपछिको प्रेजेन्टेसनमा बोल्दै उनले भने, ‘तपाईंहरूलाई थाहै छ, म पछिल्लो केही समयदेखि संघर्ष गरिरहेको थिएँ। ममाथि निरन्तर विश्वास गर्ने मेरो बुवा, आमा र कोचिङ स्टाफलाई म यो प्रदर्शन समर्पित गर्न चाहन्छु।’

गुलशनले यसै महिना लिग-२ अन्तर्गत नेपालले आयोजना गर्ने अर्को त्रिकोणात्मक सिरिजमा आफ्नो क्षमता देखाउने थप अवसर पाउनेछन्। मे १२ बाट सुरू हुने उक्त सिरिजमा नेपालले लिगको शीर्ष स्थानमा रहेको अमेरिका र दोस्रो स्थानमा रहेको स्कटल्यान्डको सामना गर्दैछ।

कागजमा अमेरिका र स्कटल्यान्डविरुद्धको खेल नेपालका लागि कठिन देखिए पनि आफ्नो टोलीको मनोबल उच्च रहेको र सबै खेल जित्न सकिनेमा गुलशन विश्वस्त छन्।

‘हामीले यो घरेलु सिरिजमा कुनै पनि खेल नगुमाउने योजना बनाएका छौँ,’ उच्च मनोबलका साथ झाले भने, ‘आगामी सिरिजमा हामी चारवटै खेलमा जितको खोजीमा हुनेछौँ।’

वैशाख २३, २०८३ बुधबार ११:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।