बल्खु खोला किनारमा आतंकको एक घण्टा : डोजरको त्रासबीच भएको सविन र इन्द्रबहादुरको त्यो अन्तिम भेट

बल्खु खोला किनारमा आतंकको एक घण्टा : डोजरको त्रासबीच भएको सविन र इन्द्रबहादुरको त्यो अन्तिम भेट

काठमाडौँ :  वैशाख १८ गते बल्खु खोलाको किनारमा चार सय घरधुरी रहेको जागरण टोलमा बिहानैदेखि प्रहरीको घेराबन्दी सुरु भयो। बस्तीका स्थानीय सखारै उठेर सरसामान निकाल्न व्यस्त थिए। बिहान आठै बजे डोजरको कर्कश आवाजले ब्युँझिन बाँकी रहेकाहरूको पनि निन्द्रा खुल्यो। डोजर बस्तीतिर सोझिएपछि भागदौड मच्चिहाल्यो।

सविन भनेर बोलाइने सोबिन्द्र कुमार राई पनि त्यस दिन बिहानैदेखि बस्तीमा परिवारको सामान जोगाउन लागिपरेका थिए। बस्तीमै बस्ने उनका बुबा इन्द्रबहादुर राईलाई पनि उनले सामान मिलाउँदै गरेको देखे। भीड र त्रासले गन्जागोल बनेको बस्तीमा उनले बुबासँग कुरा गर्ने फुर्सद पाएनन्। दुवैले एक अर्कालाई हेरे अनि आ-आफ्नो काममा लागे।

करिब १२ बजेतिर बस्तीमै सकुशल देखेका सविनले आफ्ना बुबालाई दिउँसो एक बजेतिर पुनः देखे। तर, यस पटक उनीहरूबीच नजर जुध्न सकेन। किनभने, उनका बुबा शव बनिसकेका थिए।

“एक बजेतिर बस्तीमा लास भेटियो भन्ने हल्ला सुनेँ। म पनि हेर्न गएँ। झट्ट हेर्दा सुरुमा चिन्न सकिनँ। तर, मनमा चिसो पस्यो। पछि प्रहरीहरू पनि आए,” किरिया बसिरहेका सविनले मंगलबार उकेरासँग भने।

खोलाको पानीले गर्दा अनुहार पुरै सुन्निएको हुनाले उनले सुरुमा चिन्न सकेका थिएनन्। प्रहरीले मुचुल्का उठाउने क्रममा शवको कपडा खोल्न नजिकै उभिएका सविनलाई अह्रायो। बल्ल उनले चिने-त्यो शव त एक घण्टाअघि मात्र जीवितै देखेका आफ्नै बुबाको रहेछ।

शोकमै उनले बुबाको शरीर नियाले। शरीरका सबै कपडा भिजेको थियो। दाहिने खुट्टामा सानो घाउबाहेक शरीरमा अन्य कुनै ठूलो चोटपटक देखिएन।

प्रहरीले घटनास्थल मुचुल्का उठाएपछि पोस्टमार्टमका लागि इन्द्रबहादुरको शव त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगियो। १९ गते पोस्टमार्टम सकिएपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरियो।

“मैले बुबालाई अन्तिम पटक बस्तीमै हिँडिरहेको देखेको हुँ। पछि उहाँका साथीहरूसँग कुरा हुँदा घर भत्किने भएपछि बुबा एकदमै आत्तिनुभएको थियो रे,” सविनले मधुरो स्वरमा भने, “भएको एउटा घर पनि जाने भयो, अब के गर्ने होला भनेर तनावमा हुनुहुन्थ्यो रे। कतिखेर खोलामा हाम फाल्नुभयो वा के भयो, भगवान् नै जानुन्।”

OOO

सबिनसहित इन्द्रबहादुरका छ सन्तान छन्। उनी आफ्नी श्रीमती र छोरीहरूसँग सो बस्तीमा २०५२ सालदेखि बस्दै आएका थिए। नजिकैको फलफूल बजारमा भारी बोक्ने काम गरेर उनले परिवारको गुजारा चलाएका थिए।

सरकारले वैशाख १२ गतेदेखि अनधिकृत भन्दै सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूमा कुनै विकल्प नै नदिई डोजर चलाउन थाल्यो। वरपर प्रहरीको बाक्लो घेरा थियो। बन्दुकसहित सुरक्षाकर्मीहरू तैनाथ थिए। राज्यको बल प्रयोगका अगाडि कसैले प्रतिरोध गर्न सक्ने अवस्था थिएन। जे-जे हुन्छ टुलुटुलु हेर्ने र सम्भव भएसम्म सामान जोगाउने ध्याउन्नमा सबै लागे। त्यस दिन सुरक्षाकर्मीकै आडमा बल्खुको करिब चार सय घरधुरी भत्काइयो, जसमा इन्द्रबहादुरको जीवन पनि समाप्त भयो।

इन्द्रबहादुरभन्दा अघि मनोहरा खोला किनारमा अर्का १७ वर्षीय किशोरको ज्यान गएको थियो। सरकारले मनोहराको सुकुमबासी बस्ती हटाउने भएपछि सोही बस्तीका ती किशोर आफ्नै टहराको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

गत भदौ २३ को 'जेनजी' आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका युवाहरूको सपना पूरा गर्ने भन्दै सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व सम्मिलित सरकारको 'डोजर शैली' ले दुई जनाको ज्यान लिएपछि यतिबेला सरकारको तीव्र आलोचना भइरहेको छ। तर, सरकारमा रहेकाहरू भने भौतिक रूपमा मौन रहे पनि सामाजिक सञ्जालमा मात्र सक्रिय देखिन्छन्।

आफ्नो दल सम्मिलित सरकारको प्रतिरक्षा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यी मृत्युका घटनाहरू दुःखद रहेको र यसमा सरकार संवेदनशील रहेको दाबी गरेका थिए। साथै, मृत्युको वास्तविक कारण खुलेपछि मात्र थप बोल्ने बताएका थिए।

तर, उनले संवेदनशील दाबी गरेको सरकारका कुनै पनि प्रतिनिधिको अनुहार इन्द्रबहादुरको परिवारले अहिलेसम्म देख्न पाएको छैन। शोकमा डुबेको परिवारलाई सान्त्वना दिन कोही पनि सरकारी प्रतिनिधि पुगेका छैनन्। पोस्टमार्टम त भयो, तर रिपोर्ट आउन अझै समय लाग्ने जानकारी मात्र परिवारले पाएको छ।

गरिबीले खोसेको जीवन

२०३८ सालमा खोटाङबाट काठमाडौँ झरेको राई परिवार सुरुका ११ वर्ष मखनटोल, झोछें लगायतका ठाउँमा डेरा गरी बस्यो। त्यतिबेला आमा र बुबा दुवै ज्यामी काम गर्थे। छ जना सन्तानलाई ज्यामी कामकै भरमा हुर्काउनु र पढाउनु आफैँमा चुनौतीपूर्ण थियो।

कामको खोजीकै क्रममा उनीहरू बल्खु खोला किनार पुगेका थिए। बल्खुस्थित साझा पेट्रोल पम्प नजिकैको खाली खाल्डोलाई माटोले पुरेर, बोरा, त्रिपाल र बाँसको बार हाली उनीहरूले सानो छाप्रो बनाएका थिए। पछि बिस्तारै अरू मानिस थपिँदै गए र २०६३ सालपछि त्यहाँ ठुलै बस्ती बस्यो। २०७२ सालको भूकम्पपछि केही संस्थाहरूले राहत स्वरूप दिएको जस्तापाताले टहरालाई अलि बस्न मिल्ने बनाएका थिए।

“खोटाङमा हाम्रो जग्गा त छ रे, तर नामको मात्र। उब्जनी नै नहुने जग्गाको भरमा परिवार पाल्न नसकेपछि आमा र बुबा काठमाडौँ पस्नुभएको रहेछ। दुःखजिलो गरेर जीवन चलेकै थियो,” सविनले आँसु पुछ्दै भने, “अहिले आएर बस्ने बास त गयो नै, बुबालाई पनि लग्यो” बोल्दाबोल्दै सविन टोलाए।

सविनको सानै उमेरमा विवाह भएपछि उनी आमाबाबुभन्दा छुट्टै बस्दै आएका थिए। आर्थिक अभावकै कारण बहिनीहरूले कक्षा १२ भन्दा माथिल्लो शिक्षा हासिल गर्न सकेनन्। बहिनीहरुको विवाह हुन बाँकी छ। सबै आ-आफ्नै काममा व्यस्त हुन्थे। स-परिवार भेटघाट हुने साझा थलो त्यही टहरो मात्र थियो। सुन्दर शहर बनाउने सरकारको रहरले सविनको छाप्रो मात्र खोसेन, बुबा पनि सदाका लागि खोसिदियो।

“हामी त सानैदेखि गरिबी र डरैडरमा हुर्कियौँ। तर, जे भए पनि परिवार साथमै छ भन्ने आड थियो। यही परिवारमा पनि सरकारको आँखा लाग्यो, परिवारै तितरबितर पारिदियो। सायद बुबा यही नहोस् भन्ने चाहनुहुन्थ्यो होला,” सविनले भने, “सरकार त गरिबको भएन, तर भगवान् त पक्कै होलान्।”

हामीलाई अलपत्र पारेर नछोडियोस्’

बस्तीमा डोजर चलेदेखि नै काठमाडौँमा लगातार पानी परिरहेको छ। राई परिवार भने यतिबेला शोकमा किरियाघर भित्र छ। किरिया अवधि सकिएपछि कहाँ जाने भन्ने उनीहरूलाई पत्तो छैन। सरकारले विस्थापितहरूको लगत संकलनका लागि नाम टिपिरहेको सुने पनि किरियाघर छाडेर जान सक्ने अवस्था छैन।

चोखिएपछि नाम टिपाउन जाने सबिनको योजना त छ, तर परिवारलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ। सरकारले होल्डिङ सेन्टर बनाएको सुने पनि सदस्य सङ्ख्या धेरै भएकाले आफ्नो परिवारलाई त्यहाँ राख्ला कि नराख्ला भन्ने पिर उनमा देखिन्छ।

“सेल्टरमा बसेका साथीहरूले कुरा सुनाउँछन्। सबैलाई एउटै ठाउँमा कोचाकोच गरेर राखिएको छ रे। हाम्रा त कति धेरै चेलीबेटीहरू छन्, त्यस्तो ठाउँमा कसरी बस्न सकिएला र? परिवारको अभिभावक र घर दुवै ढल्यो। अब सरकारले हामी बाँचेकाहरूलाई नढाले हुन्थ्यो,” उनले दुखेसो पोखे।

सुकुमबासी भएर कोही बस्न नपरोस्’

विस्थापित भएपछि सामानहरू एकजना साथीकोमा थुपारेर उनीहरूले कोठा खोज्ने प्रयास नगरेका भने होइनन्। तर, सुकुमबासीको उठीबासमा रमाइरहेको यो निर्दयी सहरमा जग्गा र घर हुनेहरूले 'सुकुमबासी' भन्ने थाहा पाउने बित्तिकै कोठा दिन अस्वीकार गरेको तितो अनुभव उनीहरूले सँगालेका छन्।

“अहिले सामाजिक सञ्जालमा हेर्नुभयो भने सुकुमबासीको कति धेरै मजाक उडाइएको र अपमान गरिएको देखिन्छ,” सबिनले आक्रोश र पीडा मिसाउँदै भने, “हामीमाथि घृणा फैलाउने काम बन्द गरियोस्। अहिले हामीलाई सरकारले जे गर्यो, त्यस्तो कसैलाई पनि नगरोस्। यो देशमा कोही पनि सुकुमबासी भएर बस्न नपरोस्।”

वैशाख २२, २०८३ मंगलबार १८:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।