विश्वकप लिग २: ओमानमाथि नेपालको शानदार जित

विश्वकप लिग २: ओमानमाथि नेपालको शानदार जित

काठमाडौं : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।

ओमानका कप्तान जतिन्दर लागि १२ रन बनाएर सुरुआत गरेका थिए। त्यस्तै, हस्नैन उल वहाबले २९ रन जोडे। मध्यक्रममा हम्माद मिर्जाले ३४ रन बनाउँदै सङ्घर्ष गरे भने विनायक शुक्लाले ३६ रन जोड्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। तर अन्य ब्याट्सम्यानहरू निरन्तर आउट हुँदा ठूलो साझेदारी बन्न सकेन।

आर्यन बिष्टले ६ रन, जितेन रमणान्दीले ३ रन तथा वसीम अलीले १० रन मात्र बनाउन सके। अन्त्यतिर हस्नैन शाहले १४ रन र नदीम खानले १२ रन बनाए। 

नेपालका लागि गुल्सन झाले पाँच विकेट लिए। त्यस्तै सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए। 
    
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो।

इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो। तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले।

आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए। उनले सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे।

अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्यायो। ओमानका लागि नदीम खानले तीन विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान दुई–दुई विकेट लिए।

नेपालले यसअघि युएईलाई ३६ रन र ६ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो ।

यस सिरिजमा नेपालले चार मध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ।

वैशाख २२, २०८३ मंगलबार १७:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।