नेपाल र ओमानको खेल हेर्न कीर्तिपुरमा मन्त्री पोखरेल

नेपाल र ओमानको खेल हेर्न कीर्तिपुरमा मन्त्री पोखरेल

काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेपाल र ओमानबीचको महत्त्वपूर्ण क्रिकेट खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा नेपाली टोलीको हौसला बढाउन मन्त्री पोखरेल मैदान पुगेका हुन्।

 

मैदानको भीभीआईपी भवनमा उनीसँगै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशस सिंह र सचिव पारस खड्काले उनलाई स्वागत गरेका थिए।

त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच त्रिवि क्रिकेट मैदानको जग्गा सम्झौता सकिन लागेको सन्दर्भमा शिक्षा र खेलकुद मन्त्री रहेका पोखरेल त्रिवि क्रिकेट मैदानमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सरकारका प्रवक्ता समेत रहेका पोखरेलले केही दिनअघि त्रिभुवन विश्वविद्यालयले संरचना हटाउन ३५ दिने सूचना निकाले पनि त्रिवि क्रिकेट रंगशाला नभत्किने र त्यहीँ रहने बताएका थिए।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २५७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपालका लागि ओपनर आसिफ शेखले ९४ रनको उत्कृष्ट पारी खेल्नुभयो भने आरिफ शेखले अन्त्यमा आक्रामक ब्याटिंग गर्दै ४३ रन जोडे। यस्तै, अर्जुन कुमालले ४८ र दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए।

नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो। ओमानका लागि नदीम खानले ३ विकेट लिएका छन्। अहिले ओमानले जवाफी ब्याटिङ सुरु गर्दैछ।

लिग-२ को अंकतालिकामा सुधार गर्न र आगामी विश्वकप छनोटको सम्भावना जीवित राख्न नेपालका लागि आजको खेल जित्नु अनिवार्य छ।

वैशाख २२, २०८३ मंगलबार १३:१७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।