विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालले टस जित्यो, टोलीमा दुई परिवर्तन
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज हुन लागेको खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजेबाट सुरु भएको लिग-२ को १०२औं खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई पहिले बलिङको निम्तो दिएका हुन्।
ओमानविरुद्धको यस खेलका लागि नेपाली प्लेइङ-११ (एघार) मा दुईवटा परिवर्तन गरिएको छ।
अघिल्लो खेल खेलेका ब्याटर भीम सार्की र तीव्र गतिका बलर सोमपाल कामीलाई आज बाहिर राखिएको छ। उनीहरूको स्थानमा ओपनर ब्याटर आसिफ शेख र अनुभवी तीव्र गतिका बलर करण केसी टोलीमा फर्किएका छन्।
विश्वकप लिग-२ को अंकतालिकामा ओमान नेपालभन्दा निकै माथि छ। हालसम्म २७ खेल खेलेको ओमान १४ जित, १० हार र ३ नतिजाविहीन खेलसहित ३१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।
यता, घरेलु टोली नेपाल भने प्रतियोगितामा संघर्षरत छ। हालसम्म २३ खेल खेलेको नेपालले जम्मा ७ खेलमा मात्र जित हात पारेको छ। १४ हार र २ नतिजाविहीन खेलसहित १६ अंक मात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा सीमित छ। शीर्ष चारमा रहेर सोझै विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
आजको खेलमा ओमानका खेलाडी जतिन्दर सिंहलाई एउटा व्यक्तिगत कीर्तिमान बराबरी गर्ने अवसर जुरेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ओमानका लागि फिल्डरका रूपमा सर्वाधिक क्याच लिने कीर्तिमान बराबरी गर्न उनलाई अब मात्र २ वटा क्याचको आवश्यकता छ।
नेपालको प्लेइङ ११: विनोद भण्डारी (विकेटकिपर), आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी।
वैशाख २२, २०८३ मंगलबार ०९:२५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।