साहित्यकार श्याम रिमालको ‘जेन्जी’ कवितासङ्ग्रह ‘लाभा’ प्रकाशित

साहित्यकार श्याम रिमालको ‘जेन्जी’ कवितासङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौं : साहित्यकार तथा पत्रकार श्याम रिमालको नयाँ कवितासङ्ग्रह ‘लाभा’ प्रकाशित भएको छ।

गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा केन्द्रित रहेर लेखिएको यस कृतिको प्रकाशन रिमालकी ९२ वर्षीया आमा चेतकुमारीले गरेकी हुन्। यो सङ्ग्रह विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित रहेको रिमालले बताए।

नेपालमा जेनजी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको दिनलाई संकेत गर्दै कृतिभित्र २३ र आवरणमा एउटा गरी जम्मा २४ वटा कविता सङ्गृहीत छन्।

सङ्ग्रहमा ‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ लगायत शीर्षकका कविता समावेश छन्।

कवितामार्फत नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति, भ्रष्टाचार, जेन्जी सहिदका भावना, पुराना राजनीतिक दल र नेताको पुरातन सोचाइ तथा निर्वाचन जस्ता विषय समेटिएका छन्।

निराश युवाहरूको उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई प्रतीकात्मक रूपमा ‘लाभा’ नाम दिइएको छ। जेन्जी आन्दोलनसँग सम्बन्धित यो नै सम्भवतः पहिलो नेपाली कवितासङ्ग्रह भएको दाबी गरिएको छ।

लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय रिमालका गीत, मुक्तक, हाइकु, कथा र धारावाहिक उपन्यासहरू प्रकाशित छन्।

यसअघि उनका ‘एउटा काँढा बिझ्दा’ (गीतसङ्ग्रह- २०४८), ‘त्रिशूलीको किनाराबाट’ (कवितासङ्ग्रह- २०६६), ‘बारपाक’ (कम्पकाव्य- २०७४), ‘नदी बग्दैन’ (कवितासङ्ग्रह- २०७८), ‘चमेरो’ (कोरोना कविता- २०८०) र ‘हिमाल त कालै भएछ’ (कवितासङ्ग्रह- २०८१) प्रकाशित भइसकेका छन्। 

पुर्ख्यौली घर नुवाकोट रहेका रिमाल हाल आफ्ना फुटकर रूपमा लेखिएका प्रकाशित-अप्रकाशित निबन्धहरूको सङ्ग्रह ल्याउने तयारीमा समेत जुटेका छन्।

वैशाख २२, २०८३ मंगलबार ०८:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।