विश्वकप लिग-२: ओमानविरुद्ध अघिल्लो हारको बदला लिने लक्ष्यसहित नेपाल आज मैदान उत्रँदै

विश्वकप लिग-२: ओमानविरुद्ध अघिल्लो हारको बदला लिने लक्ष्यसहित नेपाल आज मैदान उत्रँदै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस महत्त्वपूर्ण भिडन्तमा नेपाल अघिल्लो हारको बदला लिने र सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ। खेल विहान ९:३० बजे सुरू हुनेछ।

घरेलु मैदानमा जारी यस सिरिजमा नेपालले युएईलाई दुवै खेलमा पराजित गरेर लय समात्ने संकेत गरे पनि ओमानसँगको पहिलो भेटमा भने निराशाजनक हार व्यहोरेको थियो।

नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आजको खेलमा आक्रामक रणनीति अपनाउने बताएका छन्।

‘सुरुवाती दुई खेलमा हामीले राम्रो खेल्न सकेका थिएनौँ। तर, अहिले साझेदारीहरू राम्रो बन्न थालेका छन्,’ टोलीको सकारात्मक सोचबारे प्रष्ट पार्दै ऐरीले भने, ‘यसलाई सकारात्मक रूपमा लिएर अघि बढ्ने हो भने ओमानविरुद्ध हामी राम्रो नतिजा निकाल्न सक्छौँ।’

पछिल्लो समय उत्कृष्ट लयमा देखिएका ऐरीले टोलीका अन्य ब्याटरको संघर्ष र आफ्नो व्यक्तिगत प्रदर्शनबारे पनि बोलेका छन्।

‘अन्य खेलाडीहरूको त्यति रन बनिरहेको छैन। सायद म आफ्नो प्रदर्शनमा अलि बढी फोकस भएकाले राम्रो गरिरहेको छु। यसअघि मेरो पनि रन बनिरहेको थिएन’, उनले थपे।

आगामी एकदिवसीय विश्वकपको छनोट यात्राका रूपमा रहेको लिग-२ को अंकतालिकामा नेपाल हाल सातौं स्थानमा छ।

एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाउन नेपालले यो लिग साइकलको अन्त्यसम्ममा शीर्ष चारभित्र पर्नुपर्ने दबाब छ। यो साइकलमा हालसम्म जम्मा ७ जित मात्र निकालेको नेपालका लागि आगामी हरेक खेल निकै महत्त्वपूर्ण छन्।

यस्तो कठिन र दबाबपूर्ण अवस्थामा पनि कप्तान रोहित पौडेल भने उच्च मनोबलका साथ जित्नेमा विश्वस्त छन्। आज ओमानविरुद्ध निकालिने जितले टोलीलाई आगामी दिनका लागि आवश्यक आत्मविश्वास प्रदान गर्ने उनको विश्वास छ।

‘दबाबमा खेल्ने त हाम्रो बानी नै परिसकेको छ। त्यसैले हामी यो खेल जित्नेमा पूर्ण आशावादी छौँ’, पौडेलले भने।

अघिल्लो लिग-२ साइकलको अन्त्यतिर ऐतिहासिक पुनरागमन गर्दै लगातार ११ खेल जितेर विश्वकप छनोटमा पुगेको क्षण स्मरण गर्दै कप्तान पौडेलले खेलाडीहरूको मनोबल उच्च रहेको दाबी गरे।

उनले भने, ‘अघिल्लो साइकलमा लगातार ११ खेल जिताउन भूमिका खेल्ने खेलाडीहरू नै आज पनि यो टोलीमा छन्। हामीले त्यो स्तरको दबाब पहिल्यै झेलिसकेका छौँ। त्यसैले आगामी खेलहरू हाम्रा लागि अझ बढी महत्त्वपूर्ण हुनेछन्।’

वैशाख २२, २०८३ मंगलबार ०७:४६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।