ओमानविरुद्धको खेल र आगामी सिरिजको टिकट मूल्य आधा घट्यो
काठमाडौं : घरेलु मैदानमा भइरहेका क्रिकेट खेलहरूमा दर्शकको उपस्थिति निराशाजनक भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले टिकटको मूल्य आधा घटाएको छ।
चौतर्फी आलोचना र स्वयं खेलाडीहरूले नै महँगो टिकटका कारण दर्शक नआएको गुनासो गरेपछि क्यान टिकट दर घटाउन बाध्य भएको हो।
क्यानको नयाँ निर्णयअनुसार भोलि सोमबार आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध हुने खेलका लागि टिकटको मूल्य २०० रुपैयाँ मात्र कायम गरिएको छ। यसका साथै, अर्को साता नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक सिरिजका लागि पनि टिकटको मूल्य २०० रुपैयाँ नै तोकिएको छ।
यसअघि लिग-२ मा नेपालका खेलहरूका लागि क्यानले ४०० रुपैयाँ टिकट दर निर्धारण गरेको थियो।
पछिल्ला खेलहरूमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानका प्यारापिटहरू खाली देखिन थालेपछि खेलाडीहरूको मनोबलमै असर परेको थियो। वैशाख १८ गते युएईविरुद्धको खेलमा सानदार शतक प्रहार गरेपछि नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दर्शक नआएकोप्रति चिन्ता व्यक्त गरेका थिए।
पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै ऐरीले भनेका थिए, ’पहिले विश्वकप नहुँदा पनि दर्शकहरू आइरहनुहुन्थ्यो। तर अहिले टी-२० मा पनि, नाइट गेममा पनि दर्शक आउनुभएन। खै के हो थाहा छैन, सायद टिकटको पैसा बढी राखेको हो कि!’
उनले विदेशमा खेल्दा दर्शकको साथ पाइने तर आफ्नै घरेलु मैदान खाली देख्दा आफूलाई अत्यन्तै दुःख लागेको बताएका थिए। दर्शकको साथले खेलाडीलाई ठूलो ऊर्जा मिल्ने ऐरीको भनाइ थियो।
टिकट महँगो भयो भन्ने दर्शकको गुनासो लिग-२ अघिदेखि नै सुरु भएको हो। लिग-२ अघि नेपाल र युएईबीच कीर्तिपुरमा रात्रिकालीन टी-२० अन्तर्राष्ट्रिय शृङ्खला आयोजना गरिएको थियो। उक्त खेलका लागि क्यानले ७५० रुपैयाँ टिकट मूल्य राखेको थियो। तर, महँगो टिकटका कारण दर्शकहरू रंगशाला गएनन्।
त्यसपछि सुरु भएको लिग-२ को जारी शृङ्खला (नेपाल, युएई र ओमान) मा क्यानले मूल्य घटाएर ४०० रुपैयाँ तोक्यो भने नेपालबाहेक अन्य देश (युएई र ओमान) खेल्दा १०० रुपैयाँ राख्यो।
तर, ४०० रुपैयाँमा पनि दर्शकको उपस्थिति बाक्लो नभएपछि र सामाजिक सञ्जालमा समेत क्यानको नीतिको विरोध भएपछि अन्ततः मूल्य २०० रुपैयाँमा झारिएको हो।
जारी सिरिजमा नेपालले यसअघि युएईसँग दुई खेल (वैशाख १२ र १८ गते) तथा ओमानसँग एक खेल (वैशाख १६ गते) खेलिसकेको छ। भोलि नेपालले ओमानसँग सिरिजको आफ्नो अन्तिम खेल खेल्दैछ।
टिकट मूल्य घटेसँगै भोलिको खेल र आगामी अमेरिका तथा स्कटल्यान्ड सम्मिलित सिरिजमा भने कीर्तिपुर मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।
वैशाख २१, २०८३ सोमबार १०:३८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।